धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रतिपक्षी दलहरुको अवरोधबीच आगामी आर्थिक वर्षको वार्षिक बजेट पारित गर्ने तयारी गरेको छ।
प्रदेशसभा सचिवालयका सचिव रामसिं धामीका अनुसार आज दिउँसो २ बजेको बैठकमा बजेट पारित गर्ने कार्यसूची छ।
यसअघि आज बिहान दुई पटक बसेको बैठक प्रतिपक्षी दलको नाराबाजीबीच सञ्चालन गरिएको थियो। बैठकमा सत्तापक्षका एक सांसदले छलफलमा भाग लिएको सचिव धामीले जानकारी दिए।
गत असार १ गते संसदमा बजेट प्रस्ताव टेबुल गरिएको थियो। त्यसयता लगातार स्थगित भएको बैठकमा गत आइतबार प्रतिपक्षको अवरोधबीच आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रस्ताव पेश गरिएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का सांसद्ले सरकार कोरोना रोकथाम र नियन्त्रणमा उदासीन देखिएको भन्दै संसद बैठकमा अवरोध पुर्याउँदै आएका छन्।
