लकडाउन अवधिभर उपत्यकामा ८८ वटा मोटरसाइकल तथा स्कुटर चोरी भएका छन्। जसमध्ये ३० वटामात्र फेला परेका छन्।
बाँकीको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। महाशाखाको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षको अवधिमा मोटरसाइकल तथा स्कुटर चोकीका घट्ना बढ्दै गएका छन्।
आर्थिक वर्ष २०७१–०७२ देखि चालु आर्थिक वर्षसम्मको हाल जम्मा ६ हजार चार सय ६८ थान मोटरसाइकल तथा स्कुटर हराएको भन्दै महाशाखामा निवेदन दर्ता भएका छन्।
महाशाखाका प्रवक्ता बामदेव गौतमका अनुसार प्रहरीमा उजुरी परेकामध्ये एक हजार १९९ थान मोटरसाइकल मात्रै फेला परेका छन्। १२५ थान मोटरसाइकल र १९२ जना मानिसलाई चोरी मुद्दामा कारबाही गरिएको प्रवक्ता गौतमले जानकारी दिए।
उक्त अवधिमा बेवारिसे अवस्थामा फेला परेका ६४१ थान मोटरसाइकल भन्सारमा पठाएको गौतमले जानकारी दिए। महाशाखाले सोही अवधिमा शंकास्पदको अनुसन्धान गरी २४१ थान मोटरसाइकल सवारी सम्बन्धित व्यक्तिको जिम्मा लगाएको छ।
महाशाखाले हराएका सवारीको खोजीका लागि छुट्टै खोजतलास केन्द्र निर्माण गरेको छ।
पार्किङ स्थल, समारोह, अस्पताल, एकान्त पार्किङ स्थल, घरको प्रांगण तथा गेट बाहिर, लामो समयसम्म पार्किङ गरिने सवारी साधन बढी हराउने गरेको महाशाखाले जनाएको छ।
लकडाउनको अवस्थामा पनि विभिन्न ठाउँमा चेकजाँच हुँदा कागजपत्र प्राप्त नभई छोडेर गएका मोटरसाइकल चोरी भएको पाइएको महाशाखाले जनाएको छ।
