नेपाल प्रहरीको महानिरीक्षकका दाबेदार एआईजी हरि पालले आफ्नै साथी शैलेश थापा क्षत्री आईजीपी भएकोमा खुसी व्यक्त गर्दै मिलेर काम गर्ने बताएका छन्।
सरकारले आफ्ना प्रतिद्वन्द्वीलाई आईजीमा नियुक्त गरेपछि पालले सरकारले गरेको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका हुन्।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले एआईजी क्षेत्रीलाई आईजीमा नियुक्त गरेपछि नेपाल समयसँग प्रतिक्रिया दिँदै पालले आफ्नो निकै मिल्ने साथी आईजीपी भएकोमा खुसी व्यक्त गरे।
‘मेरो सबैभन्दा मिल्ने साथी आईजी भयो, यसमा मलाई गर्व लागेको छ,’ पालले भने, ‘सरकारले जे निर्णय गर्यो, म एकदमै खुसी छु।’
संगठनको गिर्दो साख जोगाउन दुबै जनाले मिलेर काम गर्ने पालले बताए। ‘नयाँ आईजीपीको पहिलो काम नै संगठनको गिर्दो साख जोगाउनु र प्रहरीप्रति जनताको विश्वास बढाउनु हो,’ पालले भने, ‘एक व्यक्तिले मात्र चाहेर केही नहुने भएकाले सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्छ।’
आफूहरुले जो आईजी भए पनि मिलेर काम गर्ने प्रतिबद्धता गरिसकेको भन्दै पालले सरकारले सुझबुझ पूर्ण निर्णय गरिसकेकाले अब मिलेर काम गर्ने बताए।
‘हामीले पहिले नै प्रतिबद्धता गरिसकेका छौं, आईजी बन्न दुवैले प्रतिस्पर्धा नगर्ने। जो आईजी बन्छ त्यसमा पूर्ण सहयोग गर्ने,’ एआईजी पालले भने।
२०४९ सालमा प्रहरी निरीक्षकबाट सँगै सेवा प्रवेश गरेका थापा र पाल डिएसपी, एसपी, एसएसपी, डिआईजी र एआईजी सम्म पुग्दा सँगसँगै बढुवा भएका थिए।
थापाले प्रहरी संगठनको नेतृत्व गर्ने अवसर पाए भने पालको जागिर यात्रा एआईजीमै सकिने भएको छ।
यसअघिका केही आईजीपी नियुक्तिमा सरकारले वरिष्ठता मिचेर निर्णय गर्दा आईजीपी नियुक्ति निकै विवादमा परेको थियो।
यस पटक भने सरकारले वरिष्ठताका आधारमा नै आईजीपी नियुक्त गरेको छ। विगतका जस्तो अस्वस्थ्य प्रतिस्पर्धा पनि यस पटक भएन।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले एआईजी क्षत्रीलाई आईजीमा नियुक्त गर्ने निर्णय गरेको हो।
