मंगलबार, भदौ ९, २०८३

सलह प्रकोप मरुभूमिदेखि नेपालसम्म

सलहको अहिलेको झुण्ड अफ्रिका, मध्यपूर्व र एसियाका खाडी देशमा ७० वर्षपहिले देखिएभन्दा २० गुणा ठूलो मानिएको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

सलह किराफट्यांग्राको एक प्रजाति हो, जसलाई अंग्रेजीमा लोकस्ट भनिन्छ। यसको ठूलो बथानले छोटो समयमै सबै बालीनाली खाएर सोत्तर बनाउने हुनाले यसलाई लो समस्याको रुपमा लिइएको छ। सलह किराले कुनै निश्चित बाली मात्र खाँदैन। हरियाली भएको ठाउँमा जे भेट्यो त्यही खाइदिन्छ।

प्रत्येक वर्षजसो अफ्रिकी महादेशका केन्या, सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न संकट हुने गरी सलहले धेरै क्षति पुर्याउने गरेको छ। वयस्क सलह लामो दुरीसम्म उड्न सक्छ र यसको समूहले बसेको ठाउँमा भेटेजति सबै हरिया बोट्बिरुवा तिनको हाँगा र बोक्रासमेत खाई सखाप बनाउँछ।

किरा समूहमा पर्ने यो जीवले बालीनालीमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्‍याउँछ। यो किरा अन्यको तुलनामा प्रतिरोधी, वातावरणअनुसार अनुकूलन गर्न सक्ने, विविध किसिमका बालीहरु खान सक्ने, छिटो र ठूलो संख्यामा प्रजनन गरी संख्या वृद्धि गर्न सक्छ। ठूलो क्षति पुर्याउन सक्ने भएकाले यसलाई संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलह प्लेगको संज्ञा दिएको छ।

सलहको अहिलेको झुण्ड अफ्रिका, मध्यपूर्व र एसियाका खाडी देशमा ७० वर्षपहिले देखिएभन्दा २० गुणा ठूलो मानिएको छ। शान्त अवस्थामा यो किरा वार्षिक २०० मिलिभन्दा कम पानी पर्ने अफ्रिका र दक्षिण पश्चिम एसियाको मरुभूमिमा पाइन्छ।

प्लेग भएको अवस्थामा भने ६० भन्दा बढी देश ९पृथ्वीको कुल भूमिको २० प्रतिशत० मा फैलिन सक्छ। नेपालमा २७ जुनमा पसको सलह २६ भन्दा बढी जिल्लामा पुगेको छ। दाङ र पाल्पामा बलीनालीमा ठूलो क्षति पुर्याएको छ।

प्रवासी शत्रु जीव

अफ्रिका महादेशका लागि सलह पुरानो प्रवासी शत्रु जीव हो। हाल यो किरा अन्टार्टिकाबाहेक सबै महादेशमा फैलिसकेको छ। अफ्रिकामा सन् १९८५,१९९२-१९९४, १९९६-१९९८, २००३-२००५,२०१२ र २०१४ मा प्रकोप देखिइसकेको छ।तर यो वर्ष त्यहाँ देखिएको प्रकोप अगाडिको भन्दा ठूलो र डरलाग्दो भनिएको छ।

भारतका राजस्थान र गुजरात राज्यमा यसको प्रकोप सन् १९९३-१९९४ मा सर्व प्रथम देखिएको थियो, जुन पाकिस्तानबाट आएको मानिन्छ। भारतमा विगतमा असारदेखि असोजसम्म देखिने गरेकोमा यो वर्ष वैशाखदेखि नै सलह देखा पर्यो। यसले आफ्नो आनुवंशिक गुण परिवर्तन गरेको वा जलवायुमा आएको परिवर्तनले पनि असर गरेको हो कि भन्ने आंकलन गरिएको छ।

नेपालमा सन् १९३० मा र त्यसपछि सन् १९६२ मा सलह आएको इतिहास छ। सलह किराहरु धेरै प्रजातिका छन्। सबैभन्दा हानिकारक सलह भनेर मरुभूमिको सलहलाई चिनिन्छ।

यो प्रजाति धेरै ठाउँहरुमा फैलिएर विनाश निम्ताइरहको छ। पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको सलह किरा सन् २०१८ मा अरेबियन प्रायद्विप पेनेन्सुलामा दुई ठूला आँधीले ठूलो वर्षा गराएपछि प्रजनन गरेको बताइएको छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरुले आफ्नो संख्या ८०० गुणाले बढाएका थिए।  त्यसपछि यो किरा लालसागर रगल्फ अफ इडेनलाई पार गरी अफ्रिका पुगेको मानिन्छ।

२०१९ मा अफ्रिकाको सोमालियामा साइकलोनाका कारण भीषण वर्षा भएको थियो जसका कारण त्यहाँको माटो ओसिलो र वातावरण हरियाली भयो। यो किराको प्रजनन क्षमता र दर बढायो । सन् २०२० को जनवरीमा यो केन्यासम्म पुग्यो जहाँको वर्षा र चिसो माटोले यसको संख्या बढाउन अझै मद्दत गरेको पाइन्छ।

२०२० को फेब्रुअरीमा सलह प्रकोपका कारण पाकिस्तानमा राष्ट्रव्यापी संकटकालको घोषणा गरियो। भारतको मध्य प्रदेश, राजस्थान, गुजरात, दिल्लीलगायतका क्षेत्रमा लगाएको बालीनाली सोत्तर बनिसकेको छ।

सलहको मौसमी यात्रा तापक्रम, हावाको बहाव र खानाको उपलब्धताबाट प्रभावित हुन्छ। यो किरा १४०० देखि २००० मिटरको उचाइमा एक दिनमा लगभग एक सय ३० किलोमिटरसम्म हुल बनाएर उड्न सक्छ। यही गतिमा नेपालको पूर्वी भागबाट पसेको सलहले तीनदेखि चार दिनमा पश्चिम भागसम्मको यात्रा तय गर्न सक्छ।

एक किलोमिटरमा ८० लाखदेखि एक करोड सम्मको हुल हुन सक्ने अध्ययनले देखाएको छ। सलह किरा सामान्यतया सुस्त गतिमा हावा चलेको दिशा र कम चाप हुने ठाउँमा उड्ने गर्दछन्।

तीन महिनाको जीवनचक्र

यस किराको जीवनचक्र ३ देखि ५ महिनाको हुन्छ।तर कुनैकुनै अवस्थामा ८ महिनासम्मको हुने कुरा विभिन्न अध्ययनले देखाएका छन्। मौसम र पर्यावरणीय स्थिति, त्यसमा पनि विशेष गरी तापक्रम, आद्रता र खानाको उपलब्धताले गर्दा यस किसिमको भिन्नता आउन सक्छ।

लगातारको वर्षाले गर्दा चिस्यान बढ्ने हुँदा सो समय यसको प्रजननका लागि उपयुक्त मानिन्छ। वयस्क सलह झन्डै चोर औला जत्रो हुन्छ। अन्डा, निम्फ (होपर) र वयस्क गरी यसको जीवनको तीन चरण छन्।

पोथी सलहले बालुवामा उपयुक्त चिस्यान भएको अवस्थामा सतहभन्दा ५-१५ सेन्टिमिटर तल अन्डा पार्छ। चामलको आकारमा अन्डाको कोसा बनाउछ। झुण्डमा हुँदा पोथीले एउटा कोसामा ८० वटा अन्डा पार्दछ भने एकान्तमा हुँदा १६० वटा सम्म अण्डा हुन्छ। पोथी सलहले ३ पटक सम्म अन्डा पार्दछ। १० देखि ६५ दिनमा अण्डाबाट बच्चा जन्मिन्छ। अण्डा कोरल्न १५-३५ डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिएको छ। अण्डाबाट २ हप्तामा बच्चा निस्किन्छ जसलाई होपर भनिन्छ।

६ हप्ताभित्र ६ पटकसम्म काँचुली फेरेर होपर वयस्क हुन्छ। यसको सबभन्दा खतरनाक अवस्था भनेको अपरिपक्व वयस्क हुँदाको अवस्था हो। यस बखत यसले लामो दुरीको उडान भर्न सक्छ। अपरिपक्व वयस्कलाई परिपक्व हुन ४ हप्ता लाग्छ । सरदर ३ महिनामा सलहको एउटा जीवनचक्र पूरा हुन्छ।

बालुवामा अण्डा पार्दै सलह। तस्बिर साभार : विकिपेडिया

अण्डाबाट निस्केको २०-४० दिनसम्म यसको पखेटा पलाएको हुँदैन। त्यसैले यो समयलाई सलह नियन्त्रणका लागि उपयुक्त हो। यस बखत सलहको रङ हरियो हुन्छ। त्यसपछि वयस्क हुँदै गर्दा यसको रङ खैरो, गुलावी र पहेलो रङमा परिवर्तित हुन्छ। बच्चाहरू १ देखि ३ महिनामा पूर्ण वयस्क बन्दछन्। वयस्क ४ देखि ५ महिनासम्म बाँच्छ। वयस्क किरा लामो समयसम्म हावामा उड्न सक्दछ र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्दछ।

सलहले एक ठाउँबाट अर्को ठाउँ वा एक खेतबाट अर्को खेत हुँदै कुनै पनि क्षेत्रमा रहेको सम्पूर्ण हरियो वनस्पतिहरू, तिनको बोक्रा र हाँगा समेत छोटो समयमा नै सखाप हुने गरी खाइदिन सक्छ। यस किराको प्रजननका लागि उपयुक्त ठाउँ :

- दक्षिण पश्चिम एसिया : राजस्थान (भारत) र बलुचिस्तान (पाकिस्तान)
- अरेबियन पेनेन्सुला : यमन, साउदी अरब र संयुक्त अरब इमिरेट्स
- पूर्वीअफ्रिका स् केन्या, इथियोपिया, सोमालिया, सुडान

सलहका प्रकार

सलह अन्य फट्यांग्राभन्दा भिन्न किसिमले आफ्नो शरीर र व्यवहार परिवर्तन गर्न सक्षम हुन्छन्। सलह दुई प्रकारका हुन्छन्, पहिलो प्रकारले एकान्त मन पराउँछ भने दोस्रो प्रकार समूहमा बस्दछ। पहिलो प्रकारको अवस्थामा हुँदा एउटा सलहले अर्को सलहलाई बेवास्ता गर्दछ। तर दोस्रो अवस्थामा रङ, आकार र आफ्नो सामाजिक व्यवहार परिवर्तन गरेर अन्य वयस्क किराहरुसँग एकतृत भइ झुण्ड बनाउने प्रवृत्तिको विकास हुन्छ।

एकान्तप्रेमी अवस्थाको सलहको संख्या बढेसँगै उनीहरुको व्यवहारमा परिवर्तन आउन थाल्छ र त्यसपछि उनीहरु समूह बनाउन थाल्छन्। समूहमा यिनीहरु १० घण्टासम्म उड्न सक्छन्। यिनीहरुको उडान हावाको बहावमा भर पर्छ। घाम लागेको २-३ घण्टापछि यिनीहरु सक्रिय हुन्छन्। हावाको बहाव ६-७ मिटरप्रति सेकेन्डभन्दा बढी छ भने पनि यिनीहरु उड्दैनन्।

अवस्थाअनुसार यसको दुइ भिन्न प्रवृति हुन्छ। थोरै संख्या भएको बेला यो एकान्तप्रेमी हुन्छ भने संख्यावृद्धि र खानाको कमीसंगै झुण्डमा रहन्छ। एकल र झुण्डमा हुँदा सलहको रङ फरकफरक हुँदा पहिचान गर्न सजिलो हुन्छ। झुण्डमा रहँदा पहिलो अवस्थाको होपर कालो हुन्छ भने दोस्रोदेखि पाँचौ अवस्थामा पहेंलो र कालो रङमा परिवर्तित हुन्छन् । त्यसैगरी अपरिपक्व वयस्क गुलाबी रङको हुन्छ भने परिपक्क वयस्क पहेलो रंगको हुन्छ ।एकल अवस्थामा रहको वयस्कको रङ खैरो हुन्छ ।

सलहको होपर र वयस्क अवस्था : क) एकान्त प्रेमी होपर अवस्था, ख) एकान्त प्रेमी वयस्क अवस्था, ग) झुण्डमा हुदाको होपर अवस्था, घ) झुण्डमा हुँदाको वयस्क अवस्था।

सलहबाट क्षति कम गर्न सकिने उपाय

रणनीतिक कार्ययोजना विना सलहको नियन्त्रण असम्भव छ। नेपालका लागि नयाँ समस्या भएकाले पर्याप्त अनुसन्धान र स्रोतको प्रभावकारी व्यवस्थापन र परिचालन गर्नुपर्छ। अफ्रिकामा प्रभावकारी देखिएका र विश्व खाध्य संगठनले सुझाएका उपायहरु अवलम्वन गर्नुपर्छ। दक्षिण एसियाली क्षेत्रमा भएका देशहरुको बीचमा पनि समन्वय आवश्यक पर्दछ।

अवस्था विकराल हुँदा ठूलो झुण्ड नियन्त्रण गर्न केन्द्र वा प्रदेश सरकारले देखाउने तदारुकताको विकल्प छैन। सानो झुण्डमा रहेका सलह तितरवितर पार्न किसान आफै लाग्न सक्दछन्। किसानमा जनचेतना बढाउन उपयुक्त हुन्छ। कुनै ठाउँमा सलह आउँदै गर्दा स्थानीय नगरपालिका वा कृषि ज्ञान केन्द्र वा सुरक्षा केन्द्रमा खबर गर्ने र समुदायमा जानकारी गराउने।

सलह आइसकेपछि भौतिक नियन्त्रणका लागि ठूलो अवाज, धुवाँ फैलाउने र सानो क्षेत्रमा गरिएको खेतीमा झुल वा जालीले छोपेर बालीनाली बचाउने। एउटा कुखुराले एक दिनमा ७० वटा र एउटा हाँसले एक दिनमा २०० वटा सलह खान सक्छ। चीनले हाँसको ठूलो संख्या तयार गरी यो तरिका प्रयोग गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा एउटा हाँसले ४ वर्गमिटरको क्षेत्रलाई सलहमुक्त बनाउन सक्ने देखिएको छ।

रासायनिक विषादी प्रयोग

सलहको नियन्त्रण गर्न परम्परागत रुपमा प्रयोग हुँदै आएका अर्गानोफस्फेट, कार्बामेट र पायरेथ्रोइड समूहका रासायनिक विषादीहरु प्रयोग गर्न सकिन्छ। ठूलो झुण्डले एकाएक आक्रमण गरेको खण्डमा रासायनिक विषादी नै सबभन्दा प्रभावकारी उपाय हो। सूर्योदय भएको एक दुइ घण्टाभित्र विषादी छर्कनुपर्छ। यतिखेर सलह घाम तापेर बसेको हुन्छ।

सलहको झुण्डको अवस्थाको हेरी उपयुक्त विषादी सही मात्रामा प्रयोग गर्दा नियन्त्रण प्रभावकारी हुन्छ अन्यथा माटो, पानी, हावालगायतसम्पूर्ण वातावरणलाई दुषित गरी, मानिस, पशुहरु,चराचुरुंगी, सलहका सत्रुजीवहरुको स्वास्थ्यमा नकारात्मक असर पर्दछ।

सलहको शरीरमा पर्ने गरी विषादी छर्कनुपर्छ। सरदर २० रोपनी (१ हेक्टर) क्षेत्रफलमा ५ लिटर सम्म विषादी चाहिन्छ। नेपालमा यस्तो विषादी र उपकरण नभएको अवस्थामा सामूहिक सहकार्य गरी विषादीहरु प्रयोग गर्न सकिन्छ।

जैविक कीटनाशक प्रयोग

दक्षिण अफ्रिकामा अवस्थित इन्टरनेसनल इन्स्टिच्युट फर ट्रोपिकल एग्रिकल्चरले ग्रिन मस्कलनाम गरेको जैविक विषादी तयार गरेको छ जुन सलहको नियन्त्रण मा प्रभावकारी देखिएको छ। यसमा प्राकृतिक रुपमा पाइने ढुसी मेटाराइजियमको बीजाणु हुन्छ। यो ढुसी प्रयोग गरेपछि सलहको बाहिरी पत्रमा अंकुरण भई शरीरभित्र प्रवेश गर्दछ। त्यसपछि ढुसीले सलहको सम्पूर्ण शरीरलाई कुहाउँछ। त्यसतै नोभाक्रिड नाम गरेको अर्को जैविक किटनाशक पनि प्रयोग गर्न सकिन्छ।

निमको प्रयोग गरेर पनि सलहको रोकथाम गर्न सकिन्छ तर यो तरिकाले किराको नियन्त्रण गर्न समय लिन्छ। निमको घोल तितो हुनाले सलहले खाँदैन। साथै यसले सलहको वृद्धि घटाउने, मृत्युदर बढाउने, प्रजनन क्षमता कम गर्ने र प्रोटीनको संश्लेषणको अवरोध गर्ने कुरा अध्ययनले देखाएको छ।

स्थानीय स्तरमा किसानले के गर्न सक्छन्?

-आगो बालेर, धुवाँ गराएर वा हावाको बहाव तितरवितर पार्नुपर्छ।
-हाँस, कुखुरा, माकुरा र छेपारोले यसलाई खान्छन्, त्यसैले यिनीहरुको प्रयोग गर्न सकिन्छ।
-थाल ठटाएर, ड्रम बजाएर वा स्पिकर बजाएर पनि सलहलाई भगाउन सकिन्छ।
-त्यसैगरी प्रजनन गर्न सक्ने ठाउँ नष्ट गरेर, पातमाबोरिक एसिड, लसुन पानी र पिठो छर्केर, वा झुल र जालको प्रयोग गर्न सकिन्छ।

हामी के गर्न सक्छौं?

भारतले सलह नियन्त्रणका लागि मालाथिएन प्रयोग गरेको पाइएको छ भने पाकिस्तानमा डाइजिनन र फिप्रोनिल साथै अफ्रिकामा ग्रिन मसल्स भन्ने विषादी प्रयोग सब भन्दा सफल देखिन्छ। सलह किरा निकै आक्रामक, प्रतिरोधी र अनुकूलनको क्षमता भएको हुनाले यसको नियन्त्रणमा ठुलो चुनौती छ।

रासायनिक विषादी प्रयोगमात्र समाधान हैन किनभने यसको धेरै नकारात्मक असर छ। प्राविधिक सल्लाहअनुसार भनिएका विषादीहरु तोकिएको मात्रामा सुरक्षाका साधन प्रयोग गरी प्रयोग गर्न सकिन्छ। यससँगै भविष्यमा पनि सलहको प्रकोप आइराख्न सक्ने हुनाले एकीकृत किट व्यवस्थापन गर्नुपर्छ।

(सुबोध खनाल र दिपक खनाल कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पसका उपप्राध्यापक हुन्। बडाल एक्सन एड नेपालको जीविकोपार्जन तथा प्राकृतिक स्रोत संयोजकका रुपमा कार्यरत छन्।)

प्रकाशित: Jul 08, 2020| 07:05 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।