डा. वासुदेव पाण्डे
निर्देशक, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा
नेपालमा अहिलेसम्म करिब १६ हजारको संख्यामा संक्रमित भेटिएका छन्। संक्रमितमध्ये ९९ प्रतिशत मानिसमा कोरोना संक्रमण भएको कुनै लक्षण देखिएको छैन। नेपालमा संक्रमितको अवस्था अन्य देशको भन्दा फरक छ।
अहिलेसम्मको तथ्यांकअनुसार नेपालमा देखिएका संक्रमितमध्ये ९७ प्रतिशत मानिसहरु अन्य देशबाट आएका आयातित संक्रमित हुन्। आरटीपीसीआर गरिएका २ लाख ६० हजारमध्ये सबैभन्दा धेरै संक्रमित हुने प्रदेशमा प्रदेश नं २ र ५ छन्।
ती प्रदेशहरुमा विषेशगरी समूहगत रुपमा संक्रमण देखिएको छ भने पछिल्लो समय सुदूरपश्चिम प्रदेश बढी जोखिममा देखिएको छ। बागमती र गण्डकीमा अन्य प्रदेशमा भन्दा कम संक्रमित छन्।
समुदायमा रोग छ कि छैन भन्ने विषयमा पछिल्लो समय धेरै प्रश्न उठेको छ। अहिलेसम्म समुदायमा संक्रमण फैलिएको छैन किनकी अहिले देखिएका संक्रमितमध्ये ८७ प्रतिशत पुरुष छन्। उनीहरु पनि १५–५४ वर्ष उमेर समूहका छन्।
जो श्रम गर्न विदेश गएका थिए, विदेशमा नै संक्रमित भएका उनीहरु नेपाल आएपश्चात् क्वारेन्टिन तथा आइसोलेसनमा रहेका छन्। उनीहरुमा परीक्षण गर्दा संक्रमण फेला परेको हो। यदि समुदायमा संक्रमण फैलिएको भए महिला र पुरुषमा समान रुपमा संक्रमण फैलिएको हुन्थ्यो। तर संक्रमण समान रुपले नफैलिएका कारण पनि समुदायमा संक्रमण छैन भन्न सकिन्छ।
डा. वासुदेव पाण्डे
निर्देशक, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा
त्यस्तै समुदायमा छिटफुट केसहरु मात्रै संक्रमित देखिएका छन्। समुदायमा भएका ३ प्रतिशत संक्रमित बाहिरबाट आएका होइनन् तर उनीहरुमा संक्रमितसँगको कुनै न कुनै प्रकारको समन्ध छ। तर अहिलेको अवस्थामा यो समुदायमा पुगिसकेको अवस्था होइन।
त्यस्तै अहिले काठमाडौंमा धेरै केसहरु किन देखिए भन्ने चर्चा भएको छ। यसमा हामी कति जोखिममा छौं भन्ने प्रश्न उठेको छ।
हाल उपत्यकामा २६७ जना संक्रमित देखिएका छन्। जसमध्ये काठमाडौंमा १७५ जना, ललितपुरमा ४१ जना र भक्तपुरमा ४३ जना छन्।
उपत्यकामा देखिएका संक्रमितमध्ये ७९ जना विदेशबाट हवाई उद्धार गरिएका हुन्।
विश्व स्वास्थ्य संगठनमार्फत् छलफल गर्दा कुनै पनि देशबाट अर्को देशमा पठाउँदा पीसीआर गरेर पठाउनुपर्ने भनी प्रमाणित गरी पठाउनुपर्ने भनेर आग्रह गरेका थियौं। तर त्यसमध्ये केही देशहरुले आरटीपीसीआर गरेरै पठाएका छन्।
अहिलेसम्म रेकर्डमा भएकामध्ये ३५ प्रतिशत मानिसले आरटीपीसीआरको रिपोर्ट ल्याएका छन् भने ३५ प्रतिशत मानिसहरुले आरडिटी परीक्षण गरेका छन्। अन्यले कुनै पनि परीक्षण नगरेको पाइएको छ।
साथै केही मानिसहरु कोरोना संक्रमणको लक्षण हुँदाहुँदै पनि हवाई यात्रा गरी आएका छन्। यसरी एउटै फ्लाइटमा आरटीपीसीआर गरेर ७ दिनभित्र आएका मानिसहरु भएको भए उनीहरुलाई संक्रमण छैन भन्ने भएपछि उनीहरु सुरक्षित तरिकाले होम आइसोलेसनमा गएका छन्। तर आरटीपीसीआर गरेका र नगरेका मानिसहरु एउटै जहाजमाा आएको भए उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ।
विदेशबाट संक्रमण भएर आएका केहीलाई एयरपोर्टबाटै हेल्थ डेस्कले अस्पताल पनि पुर्याएको छ। विशेषगरी साउदी अरेबिया, कुवेत, माल्दिभ्सबाट पनि बिरामीहरु आएका छन्।
अर्कोतर्फ नेपालभित्रका तर उपत्यका बाहिरबाट आएका र ट्रेसिङको दायरामा नपरेका मानिसहरुले गर्दा पनि उपत्यकामा संक्रमणको संख्या बढेको हो। बाहिरी जिल्लाहरुबाट आउने मानिसहरुलाई नाकामा चेकजाँच गर्न नसकेको अवस्थामा (रातको समयमा आउने, बाटो परिवर्तन गरी आउने) व्यक्तिहरुबाट संक्रमण भएको अवस्था छ। त्यस्तै विभिन्न अस्पतालहरुमा पुग्ने बिरामीहरुको जाँच गर्दा उनीहरु संक्रमित भएको अवस्था छ।
यसरी आएका व्यक्तिहरु काठमाडौं, भक्तपुर, ललितपुरका विभिन्न ठाउँमा छन्। काठमाडौंको कपन, महाराजगञ्ज, चन्द्रागिरी, बूढानिलकण्ठ, नैकाप, गल्फुटार लगायतका ठाउँहरुमा भेटिएका छन् भने भक्तपुरको बालकोट, सल्लाघारी, चाँगुनारायण, ललितपुरको चापागाउँ, धोविघाट, गोदावरी, भैंसेपाटी लगायतका ठाउँबाट संक्रमितहरु अस्पताल पुगेका छन्। तर उनीहरुमा पनि कोरोनाको कुनै लक्षण देखिएको छैन।
अस्पतालमा पुग्नेहरुमध्ये कतिपय आयातित पनि छन्। आयातित बाहेकका अन्य व्यक्तिहरुमा कुनै पनि संक्रमणको स्रोत पत्ता नलागेको हुनाले हामीले काठमाडौंका विभिन्न १२ स्थानको पहिचान गरी परीक्षण सुरु गरिएको छ।
तीमध्ये नख्खुटोल र तीनकुनेमा गरीएको परीक्षणमा कुनै पनि संक्रमित भेटिएका छैनन्। अन्य बाँकी ठाउँको नतिजा आएपछि मात्रै काठमाडौंको अवस्थाबारे थाहा पाउन सकिन्छ।
हामीले अहिले लकडाउन खुकुलो भएपछि जोखिमयुक्त क्षेत्रहरु (बैंक, मालपोत कार्यालय) लगायत अन्य भिड हुने ठाउँहरुको पहिचान गरी परीक्षण गर्ने योजना बनेको छ।
अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरु, आइसियुमा रहेका व्यक्तिहरु, डायलासिस गरेका व्यक्तिहरु, विभिन्न नाका तथा हवाई यात्रा गरेर आउनेहरुको स्याम्पल लिएर केही दिनभित्रै काठमाडौं लगाएत अन्य १० जिल्लाका ४५ हजार मानिसहरुको पीसीआर परीक्षण गर्ने योजना बनाएका छौं।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको कोभिड–१९ प्रेस ब्रिफिङमा आधारित)