विराटनगर– प्रदेश १ का निजी अस्पतालमा कार्यरत १२ हजार बढी स्वास्थ्यकर्मीहरुको सुविधा कटौति भएको चिकित्सक संघ र नर्सिङ संघले बताएका छन् ।
१० हजार नर्स र २ हजार ५ सय नर्सको कटौति भएको संघको दावी छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई बहाना बनाउँदै निजी अस्पताल तथा नर्सिङ कलेजहरुले चिकित्सक तथा नर्सहरुको रोजगारी खोसेर अलपत्र पारेको उनीहरुको दावी छ ।
नेपाल नर्सिङ संघ मोरङ अध्यक्ष कविता अधिकारीले नर्सिङ पेशामा आवद्धमध्ये ७५ प्रतिशत र प्रदेश १ मा सरकारी अस्पतालमा कार्यरत ३ सय हाराहारीका चिकित्सक बाहेक २ हजार ५ सय चिकित्सक र १० हजार नर्सहरुको अवस्था नाजुक भएको बताइन् ।
प्रदेश १ मा कार्यरत करिब १० हजार नर्समध्ये सरकारी अस्पतालको सेवा सुविधा बुझ्ने बाहेक निजी अस्पतालमा कार्यरत चिकित्सक, नर्स, मेडिकल, हेल्थ तथा नर्सिङ कलेजहरुमा अध्यापन गराउँदै आएकाहरुको सेवा सुविधा समेत कटौती गरिएको संघहरुले बताएका छन् ।
दवावमा विदा बसाएर तलव कटौती गर्ने र खाईपाई आएको सेवा सुविधाबाट कुनै पनि वहानामा बञ्चित गर्ने कार्य तत्काल रोक्नका लागि निजी स्वास्थ्य संस्थाहरु समक्ष माग गरिएको अधिकारीले बताइन् ।
चिकित्सक संघ कोशीका अध्यक्ष फरवार्ड सिलवालले चिकित्सकहरुको फागुन महिनायताको सेवा सुविधा सरकारी अस्पताल बाहेक सबै निजी अस्पतालले रोकेको बताए । उनले कतिपय अस्पतालले चैतको २५ र वैशाखको ५० प्रतिशत सेवा सुविधा कटौती गरेको समेत बताए ।
नर्सिङ संघ मोरङकी सचिव मेनुका भण्डारीले काम गरिरहको संस्थाले रकम नदिएपछि घरवालाको भाडा बुझाउन नसक्दा धेरै नर्सहरु तनावमा रहेकोे बताइन् । सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सहरुलाई समस्या नभए पनि निजी अस्पताल तथा कलेजहरुमा कार्यरतको अवस्था बिजोग भइसकेको उनले बताइन् ।
सुविधा कटौति गरेका छैनौं : निजी अस्पताल
विराटनगरका मेडिकल कलेज तथा अस्पतालहरुले चिकित्सक तथा नर्सहरुको रोजगारी नखोसेको बताएका छन् । उनीहरुले चिकित्सक तथा नर्सहरुलाई लकडाउन अघिकै सुविधा दिएको बताएका छन् । नोवेल मेडिकल कलेज तथा टिचिङ अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले चिकित्सक तथा नर्सहरुको सुविधा कटौति नगरिएको बताए । उनले भने, ‘पहिलेकै अवस्थामा सुविधा दिइरहेका छौं ।’
विराटनगर अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले चिकित्सक तथा नर्सहरुको पाउने पारिश्रमिकमा कुनै कटौति नगरिएको बताए । उनले चिकित्सक तथा नर्सहरुको काम गर्ने समय घटेपनि पारिश्रमिक नघटेको दावी गरे ।
अस्पतालमा विरामीको चाप पहिलेको जस्तो नभएको काम गर्ने समय कम भए पनि पारिश्रमिक नघटाएको उनले दाबी गरे । मेडिकल कलेजमा पनि त्यो समस्या नभएको विनाडीको भनाइ छ ।
