काठमाडौ– संसदीय उपसमितिले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा कार्यरत कर्मचारीलाई कुनै पनि कम्पनीको साधारण सेयर (आईपीओ) खरिद गर्न प्रतिबन्ध लागउनुपर्ने सुझाव दिएको छ ।
संघीय संसदको अर्थसमिति मातहत गठित पुँजीबजार र मुद्रा बजार सम्बन्धी अध्ययन गर्न गठित उपसमितिले बुझाएको प्रतिवेदनमा ती संस्थाका कर्मचारी सेयर बजारमा प्रत्यक्ष सहभागी हुँदा अनावश्यक चलखेल हुन सक्ने भएकाले साधारण सेयर समेत खरिद गर्न नपाउने गरी प्रतिबन्ध गरिनुपर्ने प्रस्ताव गरेको हो ।
उपसमिति संयोजक रहेकी रामकुमारी झांक्रीले समिति सभापति कृष्णप्रसाद दाहाललाई मंगलबार बुझाएको प्रतिवेदनमा ती नेप्से र सेबोनका कर्मचारीको नाममा रहेको हालसम्मको सेयर संख्या समेत सार्वजनिक गरिनुुपर्ने पनि सुझाव दिइएको छ।
बन्दाबन्दी शुरु भएसँगै चैत १० देखि बन्द रहेको सेयर बजार बीच बैशाख ३० र ३१ गते खुला भएको थियो। त्यसपछि जेठ १ देखि बन्द भएको बजार असार १५ देखि मात्रै खुला भयो।
सेयर बजार ओरालो लाग्दै गएपछि सेयरमा लगानी गरेको नेप्से र बोर्डका कर्मचारीले आफूलाई घाटा पर्नेभन्दै बजार खोल्न नदिएको गुनासो विभिन्न माध्यमबाट आइरहेको थियो।
नियामक निकायमा रहेका कर्मचारीहरुलाई धेरै सूचना आउने भएको र उनीहरुले अग्रिम सुचना पाउँदा आफ्नो स्वार्थ अनुसार बजारलाई प्रभावित पर्नसक्ने संभावना देखिएको अन्य लगानीकर्ताको गुनासो छ।
