विवादित म्यानपावर व्यवसायी हेमबहादुर गुरुङले वैदेशिक रोजगार बोर्डको सदस्य बन्न अस्वीकार गरेका छन्।
गुरुङले मंगलबार मन्त्रालयलाई पत्र लेख्दै बोर्डको सदस्यका रुपमा काम गर्न असमर्थ रहेको जानकारी दिएका छन्।
उनले कोभिड–१९का कारण सिर्जित परिस्थिति र यसका कारण वैदेशिक रोजगारको क्षेत्रमा देखिएको जटिलता र आफ्नो स्वास्थ्य अवस्थालाई कारण देखाउँदै सदस्यका रुपमा काम गर्न असमर्थ रहेको जानकारी गराएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आइतबार गुरुङ र मेडिकल व्यवसायी कैलाश खड्कालाई सदस्य मनोनित गरेका थिए। श्रममन्त्री यादवले म्यानपावर चलाइरहेका गुरुङलाई तालिम सेवाप्रदायकको तर्फबाट बोर्ड सदस्यमा ल्याएका हुन्।
गुरुङ सञ्चालक रहेको एसओएस म्यानपावर कामदार ठग्ने अगुवा म्यानपावर हो। उक्त म्यानपावर विरुद्धका दर्जनौं उजुरी बैदेशिक रोजगार विभागमा छन्।
गुरुङ र उनको म्यानपावरमाथि अहिले सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ।
कामदार ठग्ने म्यानपावरका संचालकलाई बोर्ड सदस्य बनाएको भन्दै चौतर्फी आलोचना भैरहेको छ।
