स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका कोभिड–१९ अस्पताल र कोरोना परीक्षण गर्ने प्रयोगशालालाई गर्भवती तथा सुत्केरीको कोरोना परीक्षण द्रूत गतिमा गर्न निर्देशन दिएको छ।
गर्भवती तथा सुत्केरीको स्वाब रातो फिताले बाँधेर प्रयोगशालामा पठाउन र प्रयोगशालाले पनि पहिलो प्राथमिकता दिएर परीक्षण गरी रिपोर्ट तुरुन्त सम्बन्धित अस्पतालमा पठाउन मन्त्रालयले निर्देशन दिएको हो।
स्वास्थ्य मन्त्रालयको आज (मंगलबार) को नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशन सम्बन्धित अस्पताल तथा प्रयोगशालालाई पठाइसकिएको जानकारी दिँदै पत्र प्राप्त नभए प्रेस ब्रिफिङलाई नै आधार बनाएर त्यसैअनुसार गर्न आग्रह गरे।
