अस्पताल भर्ना भएका बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ।
अस्पतालले आज सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएको जनाएको छ ।
अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीका अनुसार भर्ना भएका केही बिरामीमा संक्रमण भएकोले स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखी आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जानकारी दिए । उनले अन्य कति जनामा पुष्टि भएको भन्नेबारेमा खुलाउन चाहेनन् ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गंगालालमा भर्ना भएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अन्यको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
पछिल्लो समय अस्पतालमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीमा संक्रमण बढेको पाइएको छ। यसअघि ह्याम्स अस्पताल, नर्भिक अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायतमा भर्ना भएका बिरामी तथा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
