दाङ– बलात्कृत किशोरीको उमेर दुई वर्ष घटाएर सिफारिस गरेको आरोपमा दुई वडासचिवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ का वडासचिव धनबहादुर केसी, वडा नम्बर १३ का तत्कालीन वडासचिव (हाल खरिदार) लिलाजित नेपाली र सोही वडाका हुकुमबहादुर जि.सी.छन्।
२०५९ माघ १२ गते जन्म मिति भएकी किशोरीको दुई वर्ष उमेर घटाएर २०६१ माघ १२ गते बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
जबरजस्ती करणी मुद्दामा पीडित युवतीका बाबुले छोरीलाई न्याय दिलाउन भन्दै उमेर घटाउन ती दुई वडासचिवले तत्कालीन समयमा सघाएको देखिएको प्रहरीले जनाएको छ। जबरजस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा छन्।
पीडक पक्षले युवतीको उमेर घटाएको तथ्यसहित जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले उक्त विषयमा जानकारी दिन उपमहानगरपालिकालाई पत्राचार गरेको थियो।
उपमहानगरपालिकाले किशोरीको जन्म २०५९ माघ १२ गते रहेको प्रमाणित गरी पठाएको थियो। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
