काठमाडौँ- कोरोनाको महामारी नियन्त्रण र रोकथाममा सरकारको प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा अनसनमा बसेका युवाहरु र सरकारबीच १२ बुँदे सहमति भएको छ।
सत्याग्रही युवा र स्वास्थ्य मन्त्रालयबीच सोमबार १२ बुँदे सहमति भएपछि इनफ इज इनफका सत्याग्रही इशान अधिकारी (इ) सहितले मंगलबार बिहान अनशन तोडेका हुन्।
विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छाअनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गर्ने सहमति भएको छ। यस्तै होम क्वारेन्टिनको निर्देशिका एक हप्ता भित्र तयार पार्ने सहमति भएको छ।
यस्तै जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएका पनि)को राज्यको नीतिअनुसार पीसीआर परीक्षण गर्नेगरी हालको निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने, आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टिन र होल्डिङ सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै घर पठाउने सहमति भएको छ।
यस्तै सर्वोच्च अदालतको फैसला अनुसार परीक्षण तथा क्वारेन्टिन लगायतका विषयमा हाल जारी निर्देशिका एवम् प्रोटोकललाई परिमार्जन गर्ने सहमति पनि भएको छ।
सरकारको कार्य विरुद्ध शान्तिपूर्ण आन्दोलन थालेका युवाहरु पछिल्लो समय आमरण अनसन बसेका थिए।

