काठमाडौं- शक्ति संघर्षका कारण उत्कर्षमा पुगेको नेकपाको विवाद हल गर्ने विषयमा दुई अध्यक्ष आज (मंगलबार) पनि छलफलमा जुट्ने भएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान ११ बजेपछि बालुवाटारमा भेटवार्ता हुन लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। हिजो पनि दुई अध्यक्षबीच छलफल भएको थियो ।
प्रचण्डले विवाद समाधानका लागि दोस्रो तहका नेताहरु परिचालन गर्नभन्दा अध्यक्ष आफै सक्रिय हुनुपर्ने प्रस्ताव गरेका थिए । सोहि प्रस्ताव अनुसार सोमबार एक्लाएक्लै भेट गरेका दुई अध्यक्षबीच आज पुनः भेटवार्ता हुन लागेको हो ।
असार २२ गते बस्ने भनिएको स्थायी समिति बैठक स्थगित गरेर दुई अध्यक्षहरु लगातार छलफलमा जुटेका छन् । यद्यपी अहिलेसम्म दुई अध्यक्ष सहमति नजिक पनि पुगेका छैनन् ।
दुबैजना आ आफ्नो अडानमा अडिक छन् । प्रचण्डसहितका शीर्ष नेताहरुले अर्का अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने अडानमा छन् भने ओली कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन् । ओली राजीनामा दिनभन्दा पार्टी फुटाएर कांग्रेससँग सहकार्य गर्दै सरकार चलाउने योजनामा छन् ।
असार १० गतेबाट सुरुभएको स्थायी समितिमा ओलीले पार्टी र सरकारमा एकलौटी गरेको भन्दै राजीनामाको माग भएपछि नेकपाको विवाद चर्किएको हो । विवादले उग्र रुप लिएसँगै नेकपा फुटको संघारमा पुगेको चर्चा चल्न थालेको छ ।
