कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा रोगपछि भोकको चुनौती तेर्सिएको बताएकी छन्।
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २५औं बैठकमा विनियोजन विधेयक, २०७७ माथिको जारी छलफलका क्रममा कृषि मन्त्रालयको बजेटमाथि सभा सदस्यले उठाएका जिज्ञासाको जवाफमा मन्त्री केसीले कोभिड–१९ र पछिल्लो समयमा आइलागेको सलह सङ्कटले कर्णालीमा भोकको खतरा बढ्ने जनाइन्। कोरोना, सलह र अमेरिकी फौजी किराको प्रकोपबाट नागरिकलाई बचाउन सरकार लागिपरेको बताइन्।
कूल बजेटमा १०.८९ प्रतिशत कृषिमा विनियोजन भएकामा चालु खर्चमा ८१ र पूँजीगत खर्चमा १९ प्रतिशत बजेट रहेको बताउँदै उनले कृषि कर्म गर्नेले सूचना नपाउने र भएका फर्म दर्ता गर्न फुर्सद नहुने अर्को चुनौती भएकाले झोलामा फर्म दर्ता गरेर राख्ने कामलाई मन्त्रालयले पन्छाउँदै आएको जनाइन्।
मन्त्रालयको बजेटमाथि प्रदेशसभा सदस्यले दिएका सुझावलाई समेट्ने र त्रुटिलाई सच्याएर अघि बढ्ने उनले विश्वास दिलाइन्। उनका अनुसार कृषि तथा सहकारीमार्फ ५० हजार बेरोजगारलाई रोजगारी दिने लक्ष्य मन्त्रालयले लिएको छ ।
