मंगलबार, भदौ ९, २०८३

कांग्रेसको १४ औं महाधिवेशन निर्धारित मितिमै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित पार्टीको १४ औं महाधिवेशनको मिति कायम राखेकाे छ। 
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित पार्टीको १४ औं महाधिवेशनको मिति कायम राखेकाे छ। क्रियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको छ।

सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समायोजन हुन बाँकी पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि आगामी साउन १० तथा नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण अवधि यही असार २५ गतेदेखि साउन मसान्तसम्म तोक्ने निर्णय गरेको हो।

यसैगरी क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशन गरी केन्द्रमा पठाउने अवधि आगामी भदौ मसान्तसम्म ताेकिएकाे छ।

जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरणमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अवधि असोज १५ गतेसम्म ताेकिएकाे छ भने उजुरीमाथि क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि असोजसम्म तोक्ने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा कात्तिकसम्म उजुरी/पुनरावेदन दिइसक्नुपर्नेछ।

उजुरी/पुनरावेदनमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि मंसिर १५ गतेसम्म ताेकिएकाे छ।

नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई बुझाइसक्नुपर्ने अवधि मंसिर २५ गतेभित्र र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि मंसिर मसान्तभित्र तोकिएको छ।

त्यसैगरी गाउँनगर वडा अधिवेशन पुस ६ गते, गाउँनगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते गर्नुपर्नछ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन माघ ६ गते गरिनेछ।

केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ।

बैठकले संघीय संसदमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रस्ताव विचाराधीन रहेको तथ्यलाई उपेक्षा गरी संसद्को अधिवेशन अन्त्य गरिएको भनी आपत्ति जनाएको छ।

सत्तारूढ दल नेकपाको आन्तरिक जीवनमा उत्पन्न द्वन्द्वसँग कांग्रेस निरपेक्ष रहेको स्पष्ट पार्दै बैठकले गत निर्वाचनमा प्राप्त जनादेशबमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध रहेको जनाएको छ।

बैठकले खेतीको मौसममा किसानलाई तत्काल मलबिउ उपलब्ध गराउन र राहत प्याकेजको व्यवस्था गर्न तथा कोभिड—१९ संक्रमणको रोकथाम र तयारीका साथै बन्दाबन्दीबाट आर्थिक–सामाजिक जीवनमा देखापरेको समस्या समाधानमा सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ।

निर्णयकाे पूर्ण विवरण

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ।

(१) २०७७ फागुन ७, ८, ९ र १० गतेका लागि पूर्व निर्धारित चौधौं महाधिवेशनको मिति कायम राख्दै बैठकले समायोजन, कृयाशील सदस्यता वितरण र अधिवेशनका कार्यतालिका हेरफेर गरि निम्नानुसार निर्धारण गरेको छ।

(क) समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि– २०७७ श्रावण १० गते भित्र।
(ख) विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७७ असार २५ गतेदेखि २०७७ श्रावण मसान्तसम्म।
(ग) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि – २०७७ भाद्र मसान्तसम्म।
(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि – २०७७ असोज १५ गते भित्र।
(ङ) उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ असोज मसान्त भित्र।
(च) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी/पुनरावेदन दिइसक्नु पर्ने अवधि – २०७७ कात्र्तिक मसान्त भित्र
(छ) उजुरी/पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ मंसिर १५ गते भित्र।
(ज) नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि – २०७७ मंसिर २५ गतेभित्र।
(झ) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०७७ मंसिर मसान्त भित्र।

अधिवेशन 
(क) गाउँ/नगर वडा अधिवेशन– २०७७ पुस ६ गते
(ख) गाउँ/नगरपालिका अधिवेशन– २०७७ पुस ८ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ पुस ११ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन - एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १६ गते

(च) प्रदेश अधिवेशन– २०७७ माघ ६ गते
(छ) केन्द्रीय महाधिवेशन- २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं।

(२) संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएको बिषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ। संसदमा विभिन्न महत्वपूर्ण विधेयक र प्रस्तावहरु विचारधीन रहेको तथ्यलाई नजरअन्दाज गरि, संसदको चालू बैठक आह्वान र अन्त्य गर्ने निश्चित पद्धति र परम्परा उल्लंघन गरेर अधिवेशन स्थगित गरिनु अत्यन्त आपत्तिजनक छ।

(३) सत्तारूढ दल नेकपाको आन्तरिक जीवनमा उत्पन्न द्वन्द्वसँग नेपाली कांग्रेस निरपेक्ष रहेको छ। गत निर्वाचनमा नेपाली जनताले दिएको म्याण्डेड बमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध छ। सत्ताद्वन्द संग नेपाली कांग्रेसलाई जोडेर गरिएका प्रचारहरुलाई यो बैठक सम्पूर्ण रुपले खारेज गर्दछ।

(४) खेतीको मौसममा नेपाली कृषकहरु एकातर्फ कोरोनाको चुनौती झेलिरहेका छन् भने अर्कातर्फ सरकारले समयमा मल, बिउ उपलब्ध नगराउँदा अत्यन्त समस्यामा परेका छन्। नेपाली कांग्रेस केन्द्रीय समितिको यो बैठक तत्काल मल, बीउ उपलब्ध गराउन र कृषकलाई राहत प्याकेजको व्यवस्था गर्न पनि जोडदार माग गर्दछ।

यसै समयमा सलह किराले बालीनालीमा गरेको क्षतिले किसानहरु थप प्रताडित बनेका छन्। तसर्थ, सलह किराको प्रकोपलाई नियन्त्रण गर्ने सम्पूर्ण उपाय तत्काल अवलम्वन गर्न सरकारसँग यो बैठक माग गर्दछ।

(५) बर्षाको समयमा हरेक बर्षझैँ यो बर्ष पनि बाढी पहिरोको घटना विकराल बन्न सक्ने स्थिति दृष्टीगत गर्दै यो बैठक यसबारे विपत ब्यवस्थापनको उच्च स्तरीय तयारी प्रारम्भ गर्न सरकारको विशेष ध्यानाकर्षण गराउँंदछ।

(६) राजधानी लगायत विभिन्न ठाउँमा आन्दोलनरत आम नागरिक, पत्रकार, विद्यार्थी, कर्मचारी, यातायात व्यवसायी, ट्याक्सी चालक, शिक्षक, स्वास्थ्यकर्मी लगायत विभिन्न संस्था र समुदायले राखेका मागहरु तत्काल सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने यो बैठक निर्णय गर्दछ। साथै, कोरोना संक्रमण रोक्न सरकारले प्रभावकारी काम गरोस् भन्ने माग राखी केही दिनदेखि अनसनमा बसेका अनसनकारीहरुको माग प्रति गम्भीर हुन सरकारसँग माग गर्दछ।

(७) कोभिड—१९ का सम्बन्धमा
कोरोना संक्रमणपछिको प्रारम्भिक दिनहरु र लकडाउनको घोषणाको बेला देखि नै नेपाली कांग्रेस पार्टीले कोभिड—१९ संक्रमणको रोकथाम र तयारीका साथै लकडाउनबाट आर्थिक–सामाजिक जीवनमा देखा परेको समस्या समाधान गर्ने तर्फ पनि सरकार गम्भीर बनोस् भनेर ध्यानाकर्षण र खबरदारी गर्दै आएको हो। नेपाली कांग्रेस संघीय संसद संसदीय दल, ७ वटै प्रदेश सभा संसदीय दल, ७७ वटै जिल्ला कार्यसमिति र विदेश स्थित ३५ वटा नेपाली जनसम्पर्क समितिहरुले यस सम्बन्धमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर कोभिड—१९ को संक्रमणबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको थियो। साथै, संसद र संसद बाहिर खबरदारी र सचेतना फैलाउदै लकडाउनको परिस्थितिबाट उत्पन्न आर्थिक संकटलाई न्यून गर्न राहतको काममा पनि पार्टीपंक्ति सक्रिय रह्यो।

नेपाली कांग्रेस पार्टीले बनाएको अनुगमन समितिले गरेको प्रारम्भिक अनुगमनबाट प्राप्त सूचना र अनुभवबाट पनि सरकार बढ्दो संक्रमणप्रति संवेदनशील हुन नसकेको र आगामी दिनमा सरकारी प्रक्षेपणका आधारमा पनि संक्रमण भयावह हुन सक्ने स्थिति देखाएको छ। तर सरकार यो परिस्थिति सामना गर्न आवश्यक तयारीप्रति गम्भीर छैन।

(क) क्वारेन्टाइन केन्द्रहरु मापदण्ड अनुरुप नहुँदा संक्रमणको जोखिम झन बढेकोले क्वारेन्टाइन केन्द्रहरु मापदण्ड अनुरुपको तत्काल नहुने हो भने संक्रमण समुदायमा अझ फैलनेछ। संक्रमण समुदायमा फैलन थालेको प्रारम्भिक संकेत देखिन थालेको छ। समुदायमा संक्रमण फैलदा ज्येष्ठ नागरिकहरुमा समेत फैलिएर मृत्युदर पनि बढ्ने विज्ञहरुको आंकलन छ। यस कारण क्वारेन्टाइन केन्द्रहरु संचालन गर्न यथेष्ट बजेटको व्यवस्था सहित मापदण्ड अनुरुप संचालन गर्न र पिसीआर परिक्षण व्यापक बनाउन पुनः माग गर्दछौं।

(ख) कोरोनाबाट कयौं नेपालीको मृत्यु भएको र हजारौं संक्रमित भएको तथ्यलाई गम्भीरतापूर्वक लिएर हालसम्मको कार्यको गम्भीर समिक्षा गर्दै युद्धस्तरमा कार्य गर्ने गरि सरकारले कुनै ठोस संकल्प र रणनीति न त संसदमा प्रस्तुत गर्यो, न त त्यस अघि र पछिनै सरकार यसमा गम्भीर देखिएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको यो बैठक बढ्दो संक्रमणलाई रोक्न सरकार गम्भीर बनोस् भन्ने माग गर्दछ।

(ग) सरकार आर्थिक–सामाजिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि गम्भीर देखिएको छैन। बढ्दो आत्महत्या, मातृ मृत्युदर, घरेलु हिंसा तथा कोभिड—१९ बाहेकका अन्य स्वास्थ्य सेवामा देखिएको गम्भीर समस्याहरु सम्बोधन गर्न सरकार गम्भीर देखिएन। बढ्दो वेरोजगारीको कारण न्यूनतम आवश्यकताहरु परिपूर्तिमा देखिएका समस्याहरु तथा उद्योग, यातायात, पर्यटन, कृषि व्यवसाय, शिक्षा तथा अन्य क्षेत्रमा देखिएको संकट समाधानतर्फ हामीले पहिले देखि वुँदागत रुपमा उठाउँदै आएका मागहरुप्रति पनि सरकार गम्भीर हुन माग गर्दछौं। स्वास्थ्य सामाग्री खरीद प्रकरणमा भएको भ्रष्टाचार अनियमितताका सम्बन्धमा सम्बन्धित निकायले तत्काल छानविन गरी दोषीलाई कार्वाही गर्ने प्रकृया अगाडि बढाउनु पर्दछ भन्ने नेपाली कांग्रेसको मांगलाई पुनः दोहोर्याउन चाहन्छौं।

(घ) लकडाउनमा आएको केही खुकुलोपनको स्थितिमा भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा मास्क लगाउने, हाँत साबुनपानीले धुने र सेनीटाइजर प्रयोग गर्ने कामलाई हल्का रुपमा लिइयो भने झन् संक्रमण फैलन सक्ने भएकोले यसप्रति गम्भीर हुन पनि सम्पूर्ण पार्टीका साथीहरु तथा आम नेपाली दाजुभाइ–दिदीबहिनीहरुलाई नेपाली कांग्रेस अनुरोध गर्दछ।

(ङ) बिदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दार शुरु गर्न एकातर्फ ढिलाइ गर्ने अनि महंगो टिकट खरिद गर्न बाध्य पार्ने सरकारको गैह्र जिम्मेवार प्रवृत्तिलाई यो बैठक भत्सर्ना गर्दछ। रोजगारी गुमाएर खाडी लगायतका विभिन्न मुलुकमा बेखर्ची भएका श्रमिक युवाहरूलाई कल्याण कोषको रकम निकासी गराएर निःशुल्क स्वदेश फर्काउन यो बैठक सरकार समक्ष माग गर्दछ। साथै अप्ठ्यारोमा परेका विद्यार्थीलाई उद्दार गर्न त्यही प्रकृतिको प्रबन्ध मिलाउन पनि यो बैठक सरकारलाई आग्रह गर्दछ।

बैठकमा धारणा व्यक्त गर्नु हुने पदाधिकारी एवं सदस्यहरु
आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले बैठकसँग सम्बन्धित प्रस्तावहरु प्रस्तुत गर्नु भयो। बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्यहरु— भीष्मराज आङ्दम्वे, डा. चन्द्र भण्डारी, पुष्पा भुसाल, मीन विश्वकर्मा, गगनकुुमार थापा, जीवन परियार, डा. डिला संग्रौला, बहादुर सिंह (लामा) तामाङ, अतहरकमाल मुसलमान, गोपाल दहित, योगेन्द्र चौधरी, आमन्त्रित सदस्यहरु— किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे, मनोहरनारायण श्रेष्ठ र शम्भुलाल श्रेष्ठले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।

जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित: Jul 06, 2020| 22:47 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।