मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अपरम्परागत मौद्रिक नीति ल्याउ : नेपाल व्यवस्थापन संघ

अपरम्परागत मौद्रिक नीति ल्याउ : नेपाल व्यवस्थापन संघ

नेपाल व्यवस्थापन संघ (म्यान) ले आगामी आर्थिक वर्षको मौद्रिक नीति कोरोनाले थलिएको अर्थतन्त्रलाई सीघ्र उठाउने गरी नीतिका बहुपक्षीय उपकरणहरु मार्फत् कार्यक्रमहरु ल्याउन सुझाव दिएको छ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं- नेपाल व्यवस्थापन संघ (म्यान) ले आगामी आर्थिक वर्षको मौद्रिक नीति कोरोनाले थलिएको अर्थतन्त्रलाई सीघ्र उठाउने गरी नीतिका बहुपक्षीय उपकरणहरु मार्फत् कार्यक्रमहरु ल्याउन सुझाव दिएको छ।

सोमबार म्यानले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोभिड-१९ का कारण उत्पन्न अवस्थालाई मध्यनजर गर्दै आर्थिक क्षेत्र छिटो पुनर्उत्थान हुनेगरी मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिएका हुन्।

विश्वव्यापी समस्याका कारण बिप्रेषण, पर्यटन आय, वैदेशिक सहायता तथा वैदेशिक लगानीमा प्रत्यक्ष प्रभाव परेको र नेपालको विदेशी विनिमयको सञ्चितीमा समेत प्रभाव पर्नसक्ने देखिएकाले मौद्रिक नीति तर्जुमा गर्दा असल अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत अवलम्बन गर्नुपर्ने सुझाव म्यानले दिएको छ।

विषम परिस्थितिमा जसरी विश्व वित्तीय संकटका बेला अपरम्परागत मौद्रिक नीति ल्याएर संकटको यथोचित सम्बोधन भएको थियो सोही रणनीति नेपालले पनि अवलम्बन गर्नुपर्ने, अपरम्परागत मौद्रिक नीतिका उपकरणहरुको अवलम्वन गर्दा वित्तीय प्रणालीको ‘रिजिलेन्टेसी’ (तत्काल पुनर्उत्थान गर्न सक्ने क्षमता) लाई प्राथमिकतामा राख्नुपर्ने म्यानको सुझाव छ।

त्यस्तै म्यानले मौद्रिक नीतिमा कर्जा वर्गिकरणमा सहजता हुनुपर्ने, केही कर्जाहरुको जोखिमभार न्यून गरिनुपर्ने, ब्याज पूँजीकरण गर्न पाउनुपर्ने, ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ को सीमा बढाइनुपर्ने, पर्याप्त मौद्रिक प्रोत्साहन ल्याइनुपर्ने, पुनर्कर्जामा सुलभ पहुँच हुनुपर्ने, कार्यशील पूँजीको पर्याप्तता, ३ देखि ५ प्रतिशतको ब्याजदर कटौती, वित्तीय प्रणालीकै लागत घटाउने, रणनीति अवलम्बन गरी आधार ब्याजदर घटाउनुपर्ने, ब्याजदरको स्प्रेड कम गरिनुपर्ने, बिनाशर्त कर्जा पुनर्संरचना एवम् पुनर्तालिकीकरण गर्न पाउनुपर्ने जस्ता मागहरुको सम्बोधन गर्न पनि सुझाव दिएको छ।

त्यस्तै म्यानको सुझावमा भनेको छ,‘निजी क्षेत्र र बैंकहरुको मागको सम्बोधनका लागि राष्ट्र बैंकले रिपो बोलकबोलबाट २५० अर्ब जारी गर्ने, अनिवार्य नगद अनुपात (सिआरआर) लाई थप एक प्रतिशतले कटौति गर्ने, कृषि क्षेत्रमा पर्याप्त कर्जा प्रबाह गर्न हालको विपन्न बर्ग कर्जालाई पाँच प्रतिशतबाट ७ प्रतिशत गर्नुपर्ने र सिसिडी रेसियोमा लचकता अपनाउनुपर्छ। ’

म्यानका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले दिएको मौद्रिक नीतिको सुझावहरु ग्रहण गर्दे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले म्यानले उपलब्ध गराएका सुझावहरुलाई आगामी मौद्रिक नीतिमा समेट्ने प्रतिवद्धता बताए।

प्रकाशित: Jul 06, 2020| 19:31 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्