प्रसिद्ध गीतहरुमा संगीत भरेका संगीतकार इनो मोरिसनको ९१ वर्षको उमेरमा रोमस्थित क्लिनिकमा आज (जुलाई ६) मा निधन भएको छ।
चर्चित फिल्म ‘द गुड, द ब्याड एन्ड अग्ली’, ‘द मिसन’, र ‘सिनेमा प्याराडिसो’बाट सर्वाधिक चर्चा कमाएका मोरिसनको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले बताएको हो।
मोरिसनका वकिल एवम् साथी गिओर्गियो एसुमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनी जुलाई ६ को बिहानबाट हामीमाझ रहेनन्। उनले विना कष्ट प्राण त्याग गरे। मोरिसन जीवनको अन्तिम कालखण्डसम्म पनि उच्च भावना र सम्मानका साथ बाँच्न सफल रहे।’
मोरिसनले दुई ओस्कारका साथै अन्य दर्जनौँ अवार्डहरु पनि प्राप्त गरेका छन्। अन्यमा गोल्डेन ग्लोब्स, ग्रामी अवार्ड, बफ्टा लगायतका अवार्ड जितेका छन्। जसले उनलाई थप उचाइमा पुर्याउन सफल बनाएको छ।
उनले अन्तिम ओस्कार त चार वर्ष अघि (सन् २०१६) जितेका थिए। क्वेन्टिन टोरान्टिनोको ‘द हेटफुल एट’मा उनले ओस्कार जितेका थिए।
‘मोरिसनले ‘द हेटफुल एट’मा पहिले आफ्नो काम छोडेका थिए तर पछि सोही काम गर्न स्वीकार गरे। र, मैले ५० वर्षअघि लेखेको कुरालाई उनले वेस्टर्न फिल्मको स्टाइलमा बनाउन माग गरे। र मैले दिएँ,’ टोरेन्टिनो अहिले सम्झन्छन्।
मोरिसनले सयौँ फिल्म, टेलिभिजन कार्यक्रम, प्रसिद्ध गीत र अर्केस्ट्रामा काम गरेका छन्। तर उनको एक इटालियन निर्देशक सजियो लियोनसँग दोस्ती थियो। जसले क्लिन्ट इस्टवुडलाई अभिनेता बनाएर सन् १९६० मा एक एक इटालियन वेस्टर्न स्टाइल फिल्म बनाए। त्यसले उनलाई प्रसिद्धि दिलायो।
उनलाई प्रसिद्धि दिलाउने फिल्ममा ‘अ फिस्टफुल अफ डलर’, ‘फर अ फ्यू डलर्स मोर’, र ‘द गुड, द ब्याड एन्ड द अग्ली’समेत रहे।
मोरिसन प्रायः जे हार्प, एम्प्लिफाइड हार्मोनिका, मारिआची ट्रम्पेट, कोर गन्ग्लाइस र ओकारिना (एक चिनियाँ बाजा जो अण्डा आकृतिजस्तो देखिन्छ) जस्ता परम्परागत बाजाहरु प्रयोग गर्थे। उनले बनाएका संगीतहरु साँच्चैका जस्ता सुनिन्थे। सिट्ठी, केही भाँचिएको आवाज, बन्दुकको आवाज एवम् वन्यजन्तुका आवाज दुरुस्तै सुनिन्थे।
मोरिसनले इटाली बाहिरका मानिसलाई मध्यनजर गरेर इटालियन वेस्टर्न प्रकृतिको संगीतबाट टाढा जाने कोसिस गरे। जसले उनलाई लियोनसम्म पुर्यायो र धेरै सिर्जनात्मक र फाइदाजनक जीवन बिताउन सहयोग गर्यो।
‘यो स्ट्रेट ज्याकेटको कुरा गर्दा, म यो कुरा बुझ्न सक्दिनँ कि यति धेरै फिल्म बनिसकेपछि पनि किन मानिसहरु ३० वर्ष अघिको ‘अ फिस्टफुल अफ डलर्स’मै अड्किरहन्छन् ?’ मोरिसन इटालीमा धेरै प्रख्यात भएपछि टोरेन्टिनोले सन् २००७ मा रोयटर्ससँग भनेका थिए।
मोरिसनको सबैभन्दा विचारोत्तेजक संगीत रोल्यान्ड जोफ्रीको ‘द मिसन’ (सन् १९८६)लाई मानिन्छ। जसले उनलाई ओस्कार र गोल्डेन ग्लोब अवार्ड दिलायो। १८ औं शताब्दीको दक्षिण अमेरिकाको जेसुइट मिसनको कहानीका साथ मोरिसनले पुरानो र नयाँ विश्वको मिश्रण गर्नका लागि युरोपेली शैलीमा लिटुरिजिकल कोलर र स्वदेशी ड्रम प्रयोग गरेका थिए।
त्यस्तै लियोनको ‘वान्स अपन अ टाइम इन अमेरिका’ मा नन–वेस्टर्नतर्फ मोरिसनले क्लासिक संगीत प्रयोग गरे। १९८४ को त्यो गीतमा न्युयोर्कका गरिब यहुदी बच्चाहरुको कथा देखाइएको थियो। जो पछि निषेधकालमा डाकामा परिणत हुन्छन्।
इटालीमा मोरिसनले निर्देशक गुइसेप्पे टोर्नाटोरसँग सम्बन्ध बनाएका थिए। मोरिसनसँगै काम गरेका टोर्नाटोरको फिल्म ‘सिनोमा प्याराडिसो’ले सन् १९८९ मा ओस्कार पाएको थियो।
उनी सन् १९२८ मा रोममा जन्मिँदा त्यहाँ तानाशाह बेनिटो मुसोलिनीले शासन गर्थे। उनी त्यही वातावरणमा हुर्किँदै गए। संगीत भने आफ्ना पितासँग एक सानो अर्केस्ट्रामा सिके। १२ वर्षकै उमेरमा रोमको कन्जरभेटरीमा प्रवेश गरे र ट्रम्पेट, कोरल संगीत, कम्पोजिसन सिके। पछि उनी सान्ता सेलियाको एक प्रतिष्ठित अर्केस्ट्रा एकेडेमीमा गए।
पहिला उनी थिएटर र रेडियोको लागि संगीत लेख्थे । पछि केही समयका लागि रेडियो स्टुडियोको एरेन्जर पनि बने। त्यसबखत उनले इटालीमा १९५० र ६० दशकका प्रसिद्ध पपस्टारसँग काम गर्ने अवसर पाए।
उनले केही फिल्मका लागि ‘घोस्ट कम्पोजर’को रुपमा पनि काम गरे। समयक्रमसँगै सन् १९६१ को ‘इल फेडेराल’मा पहिलो पटक संगीतको क्रेडिट प्राप्त गरे।
मोरिसनले धेरै ठूला र प्रतिष्ठित कलाकार, गीतकार र निर्देशकसँग काम गरे। तर उनले स्टेनले कुब्रिकसँग काम गर्न नपाएकोमा दुःख व्यक्त गरेका छन्।
मोरिसनले एकपटक भनेका थिए, ‘कुब्रिकले ‘अ क्लबवर्क एरेन्ज’का लागि मलाई फोन गरेका थिए। मैले पनि हुन्छ भनेको थिएँ। तर उनी विमानबाट इटाली आउन चाहँदैन थिए। र, उनले लियोनलाई फोन गरे। लियोनले उनी मसँग काम गर्न व्यस्त भएकाले काम गर्न नसक्ने बताएछन्। त्यसपछि कुब्रिकले मलाई कहिल्यै फोन गरेनन्।’
इटालीको रोममा बसेर हलिउडका नामी थोरै व्यक्तिहरुमा पर्छन् मोरिसन। उनले इटाली नछोडी विश्वमा चिनिए। एक स्टुडियोले उनलाई क्यालिफोर्नियाँमा विलासी घरको अफर गरेको भए पनि उनी त्यता गएनन्। ‘मेरा सबै साथीहरु यहाँ छन् । साथै मलाई माया र सम्मान गर्ने धेरै निर्देशक यहाँ छन्,’ मोरिसनले रोमबारे भनेका थिए, ‘रोम मेरो घर हो। अरुतिर जान चाहन्नँ।’
- डेलीमेलबाट
