विराटनगर– मोरङको बेलबारीमा साढे ६ सयले रोजगारी पाउने भएका छन्।
कृषिलाई प्राथमिकता दिँदै बेलबारी नगरपालिकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ। एक वडा एक उत्पादन गरिरहेको नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको हो।
आगामी आर्थिक वर्ष २०७७–०७८ नीति तथा कार्यक्रममा समेत कृषिलाई प्राथमिकता दिएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए।
कृषकका खेतबारीमा सिँचाइका लागि कुलो मर्मतदेखि उत्पादन गरिएका बिरुवाको गोडमेल तथा मलजल गर्ने काम भइरहेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा संयोजक विनोद दाहालले वताए।
बेलबारी–४ मा गत वर्ष सो कार्यक्रममार्फत १० हजारभन्दा वढी सुपारीका बिरुवा रोपिएका थिए। अहिले बिरुवा गोड्ने काम भइरहेको छ।
बेलबारी नगरपालिकाअन्तर्गतका केही वडामा भने ड्रेन निर्माण खानेपानी विस्तार तथा विद्यालय मर्मत भइरहेको छ। नगरपालिकामा ६ सय ५८ जनाले रोजगार पाउने संयोजक दाहालले बताए।
न्यून आय भएकाको छनोट गरी रोजगारी दिएको नगरपालिकाले जनाएको छ।
