काठमाडौं- प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयलाई लिएर नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।
स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग भएपछि बिग्रिएको सम्बन्धले पार्टी फुट्ने हो कि भन्ने अवस्थामा पुगेको छ।
पटकपटकका छलफल सहमतिका लागि असफल बनेका छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली राजीनामा दिँदै नदिने र अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाख खनाललगायत प्रधानमन्त्रीले राजीनामा दिनै पर्ने अडानबाट पछि हटेका छैनन्।
दुबै पक्षका नेताहरु एक कदम पनि पछि नहट्दा विवाद टुंगिने छाँटकाँट छैन। एक पटकका लागि विभिन्न उपाय लगाएर विवाद टुंग्याइहाले पनि यसको दीर्घकालीन समाधान देखिँदैन।
नेकपामा पार्टी एकताका क्रममा भएको सहमति उल्लंघन भएको विषयले पटकपटक विवाद सिर्जना गर्ने गरेको छ। यो विवाद ओलीले कम्तीमा एउटा पद नछोडेसम्म अन्त्य हुने देखिँदैन।
तर ओली कुनै पनि पद छोड्न तयार छैनन्।
नेतृत्वमा यस्तो घमासान तानातान भइरहेका बेला कार्यकर्ताहरुमा पार्टी फुट्ने हो कि भन्ने छटपटी बढ्दै गएको छ।
तत्कालीन दुई पार्टीबीच गरिएको चुनावी गठबन्धनका कारण पछिल्ला निर्वाचनमा अत्यन्तै राम्रो मत ल्याउन सफल भएको पार्टी अब विभाजनतर्फ जाने हो भने यसले जनमतको उपेक्षा गरेको हुने डर छ। साथै आगामी निर्वाचनहरुमा जनताले विश्वास नगर्ने एकातिर छदैँछ भने पार्टी फुटीहालेमा पूर्व एमाले र पूर्व माओवादी मात्रै टुक्रिने नभई फुटेका पार्टीहरु तत्कालीन स्वरुपमा नरहने भएकाले पनि कार्यकर्तामा बढी त्रास छ।
बालुवाटारमा विवाद सुरु भएसँगै नेकपाका कार्यकर्ताले काठमाडौंको माइतीघर मण्डला, पार्टी कार्यालय धुम्बाराहीलगायत देशैभर ओलीको समर्थनमा र पार्टी फुटाउन नहुने पक्षमा प्रदर्शन गरिरहेका छन्।
यो शिलशिला सोमबार पनि चलेको छ। सोमबार त कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ज्ञापन पत्र नै बुझाएका छन्।
पार्टीका विभिन्न भ्रातृ संगठनका नेताहरु पुगेर कार्यालय सचिव ईश्वरी रिजाललाई ज्ञापन पत्र दिँदै पार्टी फुटाउन नहुने पक्षमा प्रदर्शन गरे।
विभिन्न प्लाकार्डसहित गएका प्रदर्शनकारी धेरैजसो ओली पक्षीय थिए।
उनीहरुले पार्टी फुटाल्न चाहने आफूहरुको नेता हुन नसक्ने, एमसीसी खारेज गरेर निकास दिनुपर्ने लगायतका नारासहितका प्लाकार्ड बोकेका थिए।
नेकपाभित्र ठूलाे पंक्ति एमसीसीको विरोधमा छ। पूर्व माओवादी पक्षका अधिकांश नेतासहित वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतका पूर्व एमाले खेमाका नेताहरुसमेत एमसीसीको विपक्षमा छन्।
नेकपामा पछिल्लो पटक देखिएको विवादको एउटा कारण एमसीसीसमेत भएको अनुमान गरिएको छ। संसदबाट गत असार १६ गतेभित्र एमसीसी पारित गरिसक्नुपर्नेमा सभामुख अग्नीप्रसाद सापकोटाले उक्त मिति छल्ने गरी संसद बैठक स्थगित गरेका थिए।
सभामुखकाे कदमले अध्यक्ष ओलीलाई झस्काएको थियो।
यही बीचमा पार्टीमा आन्तरिक विवाद चलिरहेका बेला प्रधानमन्त्री ओलीले संसदको वर्षे अधिवेशन नै अन्त्यका लागि मन्त्रिपरिषद बैठकबाट सिफारिस गरिदिए।
जसका कारण प्रधानन्त्री ओलीले आफूले चाहेको काम अध्यादेशमार्फत् गर्लान् कि भन्ने चिन्ता नेकपाभित्र छ।
