सुन व्यापारीको आँखामा खुर्सानीको धुलो छर्केर गहना चोरी गर्ने एक युवकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ।
बर्दिया सदरमुकाम गुलरिया नगरपालिका–६ स्थित अफताब सुनचाँदी पसलका संचालकको आँखामा खुर्सानीको धूलो फालेर गहना चोरी गर्ने सोही नगरपालिका–५ का २२ वर्षीय रबिन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काका अनुसार सुनको गहना खरिद गर्न सुन पसलमा पुगेका चौधरीले सामान चित्त बुझेपछि पैसा तिर्ने बेलामा खुर्सानीको धूलो आँखामा छर्केका थिए।
व्यापारी आफताब जसगढको आँखामा खुर्सानीको धुलो छर्केर गहना लुटेको उजुरीका आधारमा चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
सुनको गहना लिएर भागेका चौधरीलाई पछ्याउँदै जाँदा गुलरिया नगरपालिका–५ स्थित सन्तोषीटोलबाट नियन्त्रणमा लिएको खड्काले जानकारी दिए।
खानतलासी गर्दा उनको साथबाट १८ पिस मंगलसूत्र, खुर्सानीको धूलो, १ थान मोबाइल, पैसा जस्तो बनाई सेतो प्लाष्टिकमा बेरी राखेको तीन सय १८ पिस कागजको गड्डी फेला परेको खड्काले जानकारी दिए।
बरामद गरिएको करिब ३ तोला परिमाणको मंगलसूत्रको बजार मूल्य दुई लाख ७६ हजार चार सय ४५ रुपैयाँ छ।
व्यापारी अफताबले चौधरीले दुई लाख रुपैयाँ बराबरको सुनका गहना देखाउनु भनेपछि काउन्टरमा राखेर गरगहना देखाएको जाहेरीमा उल्लेख गरेका छन्।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
