काठमाडौं- गत बुधबार अहिलेसम्मकै उच्च विन्दुमा कारोवार भएयता घट्दो क्रममा रहेको सुन आज (सोमबार) प्रतितोला तीन सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार २०० पुगेको छ। गत आइतबार छापावाल सुन ९० हजार ५०० रुपैयाँमा कारोवार भएको थियो।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ७ सय ६० रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने ९४० रुपैयाँमा स्थिर छ।
गत बुधबार अहिलेसम्मकै सर्वाधिक ९१ हजार ७०० रुपैयाँ तोकिएयता छापावाल सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँ घटिसकेको छ।
बिहीबार ९१ हजार निर्धारण गरिएको छापावाल सुनको मूल्य शुक्रबार पाँच सय रुपैयाँ घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको थियो। त्यसयता आइतबारसम्म सुनको मूल्य स्थिर रहेको थियो।
