डोल्पा- डोल्पामा जिप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन्।
जिल्लामा आन्तरिक रुपमा सञ्चालन हुँदै आएका जिप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफूखुसी भाडा असुल्न थालेका हुन्।
त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा १४ किमि मात्रै छ तर जिप भाडा भने ८ सय रुपैयाँ छ।
लकडाउनको मौका छोपी जिप व्यवसायीले चर्को भाडा असुल्न थालेपछि आर्थिक वर्षको मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि जिल्ला अस्पतालमा उपचारका लागि आउने सर्वसाधारण ठूलो मर्कामा परेका छन् ।
दुनै–सुपानी, सुपानी–दुनै, दुनै–जुफाल र जुफाल–दुनै सडकखण्डमा जिप व्यवसायीले नागरिकको ढाड सेक्ने गरी भाडा असुलेको यात्रुको गुनासो छ।
“दुनै आउन जान गरेर भाडा मात्रै रु एक हजार ६०० तिर्नुपर्ने बाध्यता छ, अरु खाना खाजासहित जोडेर रु तीन हजार खर्च हुन्छ”, त्रिपुरासुन्दरी–१ का भरुन सार्कीले गुनासो गरे।
आठ सय रुपैयाँले तराईका जिल्लामा १५० किलोमिटरसम्म यात्रा गर्न पुग्छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाले तीनजनासम्म मात्र बोक्न पाउने व्यवस्था गरे पनि यातायात व्यवसायीले प्रशासनको नियमलाई उल्लङ्घन गर्दै छ जनासम्म राख्दै आएका छन्।
चर्को भाडादरको मारमा सर्वसाधारण पर्दासमेत सडकले जोडिएका त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका र स्थानीय प्रशासनले भाडादर नियन्त्रणका लागि भरपर्दो कदम नचालेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए।
भाडादरका विषयमा पटकपटक निर्णय गर्ने गरे पनि लामो समय कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।-रासस
