सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत होउ यान्छी सक्रिय बनेकी छिन् ।
उनले नेकपा भित्र शक्ति संघर्ष चर्किएकै बेला आइतबार बेलुका पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छिन् ।
राजदूत होउ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेकी थिइन्। भेटमा चिनियाँ राजदूतले नेकपाभित्रको विवादका विषयमा चासो राखेको स्रोतले जनाएको छ ।
स्थायी कमिटीका ४५ मध्ये ३० सदस्य अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपालको पक्षमा छन्। नेकपाको संकट उत्कर्षमा पुगेका बेला भएको सो भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
गत वैशाखमा पनि नेकपाभित्र आन्तरिक कलह बढ्दा राजदूत होउले सक्रियता देखाएकी थिइन् । त्यसबेला उनले राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेतासम्मलाई छुट्टाछुट्टै भेटेकी थिइन् ।
