काठमाडौं- रौतहटको एक स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरुले तीन गुणा बढी मूल्यमा सामान खरिद गरेको नक्कली बिल बनाई रकम अनियमितता गरेको खुलेको छ।
राजदेवी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार रजकसहितका कर्मचारीले ४०० रुपैयाँ पर्ने कम्बलको तीन गुणा बढी मूल्य राखेर नक्कली बिल बनाएको खुलेको हो।
रजकसहित पाँच जना कर्मचारी र एक वडा अध्यक्षले एक लाख १५ हजार ८७२ रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
गौरस्थित गिरधारी कुमार अग्रवालको पसलबाट ४०० रुपैयाँ प्रतिथान मूल्य पर्ने कम्बललाई एक हजार दुई सय प्रतिथानका दरले ४०८ वटा कम्बल खरिद गरेको अख्तियारले जनाएको छ।
खरिद गर्दा लागत अनुमान तयार र स्वीकृत नगरेर कम्बल ल्याएर वितरण गरी पछि कागजात मिलाएको अख्तियारले जनाएको छ।
सम्बन्धित फर्मबाट खाली दररेट पेश गर्न लगाई दररेट उल्लेख नभएको अवस्थामै टिप्पणी उठाएको अनुसन्धानका क्रममा खुलेको छ।
आरोपितहरुमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार बर्मा, तत्कालीन लेखापाल (सेवा निवृत) वैधनाथ झा, लेखापाल रेणु यादव, व्यापारी गिरधारी कुमार अग्रवाल तथा वडा नम्बर २ का वडा अध्यक्ष सनुप महतो छन्। महतोले तीन गुणा महंगोमा कम्बल खरिद गर्न मतियारको भूमिका निर्वाह गरेको अख्तियारले जनाएको छ।
