ब्राजिलमा सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियमको कार्यान्वयनमा कडाइ नगरिने भएको छ। राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका हुन्।
यसअघि सबैले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई राष्ट्रपति बोल्सोनारोले आफ्नो अधिकार प्रयोग गरेर खुकुलो बनाएको अल जजिराले जनाएको छ।
चर्च, पसललगायत ठाउँमा जाँदा वा त्यहाँ रहँदा मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको अधिकारीहरुले जानकारी दिएका छन्। व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, धार्मिक क्षेत्र, शैक्षिक क्षेत्र र मानिसको भिडभाड हुने क्षेत्रमा जादा वा रहँदा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था हटाइएको छ।
सार्वजनिक ठाउँमा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था संविधानविपरीत भएको राष्ट्रपतिको भनाइ छ।
राष्ट्रपतिको पछिल्लो निर्णयसँगै यसअघि सार्वजनिक क्षेत्रमा सम्वन्धित अधिकारीहरुले मास्क उपलब्ध गराउनुपर्ने, कामदार, कर्मचारी, ग्राहकलगायतलाई उनीहरुको सम्वन्धित कार्यालय तथा सेवा प्रदायकले मास्क उपलब्ध गराउनुपर्ने व्यवस्था पनि हटेको छ।
ब्राजिलमा आइतबारसम्ममा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या १५ लाख नाघेको छ। त्यहाँ दैनिक करिब एक हजार जनाको कोरोना भाइरसका कारण मृत्यु हुने गरेको छ।
अमेरिकापछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो ब्राजिल। त्यहाँ अहिलेसम्म कोरोनाबाट ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।