मंगलबार, भदौ ९, २०८३

दुई विन्दुमा सहमति खोज्दै दाहाल र ओली

सत्तारूढ दल नेकपामा उत्पन्न आन्तरिक कलह तीव्र भएपछि त्यसलाई सल्ट्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार वार्ता भएको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं– सत्तारूढ दल नेकपामा उत्पन्न आन्तरिक कलह तीव्र भएपछि त्यसलाई सल्ट्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार वार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’ तथा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ भन्ने पूर्वसहमति कार्यान्वयन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको नेकपा उच्च स्रोतले बताएको छ।

यी दुई मिलन बिन्दुअनुसार सहमति भएमा ओलीले तत्काल पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्नेछ। ओली प्रधानमन्त्री भएको साढे दुई वर्ष बितिसकेको छ।

नेकपामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ भन्ने सहमति २०७५ जेठ २ गते भएको थियो।

यस्तै २०७६ मंसिर ४ गते ओली पाँच वर्ष नै प्रधानमन्त्री बन्ने, दाहालले कार्यकारी हैसियतमा पार्टी चलाउने सहमति भएको थियो। तर, प्रधानमन्त्री ओलीले दुवै पद नछोडेर एकलौटी गर्न थालेपछि दाहाल पक्ष रुष्ट बनेको छ।

पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयको सल्लाहमा गर्ने सहमति भए पनि अध्यक्ष एक्लैले गर्न थालेपछि विवाद चर्किंदै गएको एक स्थायी समिति सदस्य बताउँछन्।

ती सदस्यले नेपाल समयसँग भने, ‘पार्टीको नीति र घोषणापत्र एकातिर छ, प्रधानमन्त्रीको कार्यशैली र व्यवहार त्यसको ठिक उल्टो छ। अनि कसरी कुरा मिल्छ ?’

समानता र सहमतिका आधारमा आवश्यकताअनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने विषयमा पनि सहमति हुनसक्ने ती नेताको भनाइ छ।

पार्टीको घोषणापत्रअनुसार सरकार सञ्चालन गर्न नसकेको, बजेट र सरकारको नीति तथा कार्यक्रम पार्टीमा कुनै सल्लाह नै नगरी ल्याएकोे, एमसीसीलगायतका अन्य विधेयक जबरजस्ती अनुमोदन गर्न खोजेको आरोप ओलीलाई दाहाल पक्षले लगाएको छ।

पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी दाहाललाई दिने भनिए पनि ओलीले नछाडेको दाहाल पक्षको आरोप छ। यस विषयलाई हाल जारी स्थायी कमिटी बैठकमा पनि दाहाल पक्षले जोडतोडका साथ उठाएको छ।

दाहाल निकट अर्का एक स्थायी कमिटी सदस्यले भने, ‘साढे दुई वर्ष भयो, सरकार चलाउन पार्टीमा कुनै सल्लाह छैन। ओलीले न अगाडि बढ्न दिएका छन्, न पछाडि जान। उनको गतिविधि हेर्दा रुँरुँ लाग्ने बनाएका छन्।’

दुई अध्यक्षबीच बालुवाटारमा आज भएको छलफलमा ओली निकट मानिने नेकपा महासचिव विष्णु पौडेल र प्रदेश– ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए।

दाहालसँग ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा थिए। आजको वार्ता विना सहमति टुंगिएपछि भोलि फेरि छलफल हुने बताइएको छ।

प्रकाशित: Jul 05, 2020| 14:58 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।