काठमाडौं- सर्लाहीमा एक मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मोटरसाइकलको ठक्करबाट चार जना घाइते भएका छन्। प्रहरीका अनुसार बरहथवा नगरपालिका–११, दियरमा हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको ना.५२ प ५६४१ नम्बरको मोटरसाइकलले बाटोको छेउमा बसिरहेका पाँच जनालाई एकै साथ ठक्कर दिएको हो।
सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरका अनुसार मृत्यु हुनेमा १४ वर्षीय जुगल मुखिया छन्। उनको घटनास्थलमै ज्यान गएको कुँवरले जानकारी दिए।
घाइते हुनेमा ३५ वर्षीय सुरेन्द्र महता, ३५ वर्षीय शम्भु मुखिया, २२ वर्षीय श्रवण मुखिया र ३२ वर्षीय देवेन्द्र पासवान छन्।
घाइतेमध्ये सुरेन्द्रको टाउकोमा गम्भीर चोट लागेको कुँवरले जानकारी दिए। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
