पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कराँची स्टक एक्सचेन्जमा भारतले हमला गराएको आरोप लगाएका छन्।
गएको सोमबार पाकिस्तानको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज कराँची स्टक एक्सचेन्जमा बन्दुकधारीले आक्रमण गरेका थिए।
हमलामा चार हमलाकारी, दुई सुरक्षा गार्ड र एक प्रहरी सबइन्सपेक्टरको मृत्यु भएको थियो।
पाकिस्तानको बलुचिस्तानमा सक्रिय चरमपन्थी गुट बलुचिस्तान लिबरेशन आर्मीले हमलाको जिम्मेवारी लिएको छ।
पाकिस्तानी अखबार जंगका अनुसार प्रधानमन्त्री खानले पाकिस्तानमा अस्थिरता बढाउन भारतले उक्त हमला गरेको आरोप लगाएका छन्।