मंगलबार, भदौ ९, २०८३

'रहस्यमयी मधेसी' गुरुको सम्झनामा

छठ, जुडशीतल, सलहेस, मिथिला, जनकपुरसँग सम्बन्धित सांस्कृतिक प्रसंग उनैले सिकाए। मधेसी पहिरन, खानपान र जीवन पद्धितका धेरै कुरा उनैबाट थाहा भयो।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

सात कक्षासम्म सबै विषय गाउँकै शिक्षकबाट पढ्न पाइन्थ्यो।  घरपरिवारदेखि बिहान बेलुकाको दैनिकी सबै थाहा पाएका छिमेकी शिक्षकसँग पढ्नुपर्दा सिकाइमा त्यति उत्साह हुँदैनथ्यो। न त शिक्षकप्रति कुनै आकर्षण वा रहस्य बाँकी रहन्थ्यो । आठ कक्षापछिका केही विषय भने गाउँका शिक्षकले पढाउँदैनथे।

माविमा गणित र विज्ञान विषयका शिक्षक तराई मधेस मूलका हुनु अनिवार्य जस्तै थियो। अनिवार्य यसअर्थमा कि गणित र विज्ञानमा बिएस्सी युवा गाउँतिर हुँदैनथे। सेवा आयोग उत्तीर्ण गरेर आएका हुन्थे वा विद्यालय व्यवस्थापन समितिले भर्ती गर्थ्याे वा स्कुल प्रशासनले नै खोजेर ल्याउँथ्यो, त्योचाहिँ साना विद्यार्थीले जान्ने कुरा थिएन। तर फरक लवजमा बोल्ने, अप्ठ्यारो भनिएका विषय पढाउने, आफूले नदेखेको मधेसबाट आएका गुरु रहस्यमयी लाग्थे। 

उसो त पहाडका केही विद्यालय तराई मधेस मूलका शिक्षकबाटै चल्थे। नेपाली– श्यामानन्द मिश्र, गणित– गणेश मिश्र, विज्ञान– कामेश्वर ठाकुर, वाणिज्य अंकगणित–उमेशचन्द्र चौधरी। दाइ पढ्ने ऐंसेलुखर्क माविको कक्षा रुटिन थियो यो ।

मैले त्यो स्कुलमा पढिनँ तर ती गुरुहरुको कक्षानोट, प्रभावशाली व्यक्तित्व र सिकाइ गतिविधिबाट प्रभावित छु। मधेसी मूलका सरहरुलाई विद्यालयमा थरबाटै सम्बोधन गरिन्थ्यो। जस्तै - चौधरी सर, ठाकुर सर, यादव सर, झा सर, मिश्र सर, महतो सर। यी शिक्षकको टिमले कुनै बेला स्कुललाई सिकाइ स्तर र अतिरिक्त क्रियाकलापमा जिल्लामै अब्बल बनाएको इतिहास साक्षी छ। त्यसैले ती नामहरु धेरैका आदरणीय छन्।

उतिबेला शिक्षक भनेका समुदायका अगुवा थिए। बिहे, व्रतबन्ध, सत्यनारायणको पूजा आदिमा सम्मानपूर्वक आमन्त्रित हुन्थे। भिन्न भौगोलिक परिवेश र संस्कृतिमा घुलमिल हुँदा शिक्षक निकै रमाएको देख्थेँ म। शिक्षकको भूमिका सिकाइ क्रियाकलाप र कक्षाकोठामा सीमित थिएन।

रेडियो बिग्रे शिक्षक, बिरामी परे शिक्षक, राजनीतिक कुरा बुझ्नुपरे शिक्षक, समाचार थाहा पाउन शिक्षक, सल्लाह लिनुपरे शिक्षक, तमसुक र चिठी लेख्नुपरे शिक्षक, अड्डाअदालत जानुपरे साथमा शिक्षक, चुनाव आए शिक्षक, मतगणना आए शिक्षक, यति सबै जिम्मेवारी पूरा गरेर पनि भूमिगत रुपमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संगठन गर्ने उनै शिक्षक। धेरै जिम्मेवारी बाेकेका शिक्षक सबैका भराेसा र आदरणीय थिए।

यति वृहत्तर भूमिका निर्वाह गरिरहेका र समाजमा सम्मानित शिक्षकबाट प्रभावित अभिभावक आफ्ना सन्तानलाई मास्टर बनाउन चाहन्थे। आशीर्वाद पाइन्थ्यो, पढेर मास्टर बन्नुपर्छ। यी धेरै भूमिकामा सक्रिय रहने शिक्षक बन्ने सपना हामीमा पनि उतिबेलै पलाएको हो। अर्को कुरा शिक्षक भएपछि कतै टाढा आफूले चाहेको ठाउँमा गएर पढाउन पाइन्छ भन्ने लाग्थ्यो। सायद टाढा जानुमा गाउँको कष्टपूर्ण जीवनबाट पर कुनै वैभवपूर्ण लोकको कल्पना हुन्थ्यो।

मैले पढेको सिपा तीनघरे संस्कृत माविमा गणित र विज्ञान पढाउने दुई जना सर हुनुहुन्थ्यो– पीताम्बर महतो र रमाशंकरप्रसाद चौधरी। उहाँहरुले सिकाएको हिसाब र विज्ञानमा म स्कुलमा सधैं प्रथम भएँ तर एसएलसीपछि दुवै विषय मबाट टाढिए। 

डाक्टर, इन्जिनियर र वकिल आदिले के काम गर्छन् भनेर सिकाउने तराई मूलकै गुरुहरु थिए। देश-दुनियाँका अनेकन नयाँ कुरा अनौपचारिक रुपमा सिक्न पाइन्थ्यो। छठ, जुडशीतल, सलहेस, मिथिला, जनकपुरसँग सम्बन्धित सांस्कृतिक प्रसंग उनैले सिकाए। मधेसी पहिरन, खानपान र जीवन पद्धितका धेरै कुरा पनि उनैबाट थाहा भयो। नत्र हुलाकबाट डाक पुग्न महिनौं लाग्ने त्यो समयमा पहाडको एउटा कुनामा विदेश त परको कुरा अर्को जिल्लाका समाचार थाहा पाउन पनि रेडियो नेपाल बाहेक अर्को माध्यम थिएन।

मातृभाषा मैथिली र भोजपुरी भएका गुरुहरु आपसमा मातृभाषा बोले पनि विद्यार्थीलाई नेपाली भाषामै पढाउँथे। सुरुसुरुमा मधेसी लबज नयाँ लागे पनि बानी पर्दै गएपछि सामान्य बन्थ्यो हाम्रा लागि। गणित सिकाउने र विज्ञान घोकाउने सरहरुको शैली भिन्नै हुन्थ्यो। भौतिक पूर्वाधार शून्य रहेको त्यो बेला सिकाइ सामग्री पाठ्यपुस्तक मात्र थियो। तर पनि कसरी कसरी सिकिन्थ्यो। गुरुहरुको प्रिय बनिन्थ्यो।

मथिल्लो कक्षाका उरन्ठेउला विद्यार्थीबाट अप्रत्यक्षरुपमा ‘मधिसे’ शब्द सुनिन्थ्यो। गृहकार्य नबुझाउँदा सरले गाली गरेको, कठालो समातेको, उठबस गराएको झोकमा । त्यही सिको गर्दै मैले पनि झोंक चलेका बेला तराई मूलका सरहरुलाई परोक्षमा मदिसे आदि शब्द प्रयोग गरेँ– नजानेरै आचार्य देवोः भव घोकेकै थिएँ, तर त्यसको मर्म धेरै पछि थाहा भयो। 

सिन्धुपाल्चोकको एउटा गाउँमा स्कुले शिक्षा लिँदै गर्दा मेलै मधेसी शब्द गालीका रुपमा जानेको थिएँ। अब यो शब्द तराई मधेसको पहिचानका रुपमा स्थापित भइसकेको छ। संविधानमै यो शब्दले प्रवेश पाएको छ। मधेसी शब्द कानुनी रुपमा मात्र होइन, भावनात्मक रुपमा पहाड र हिमालसँग मिसिएको छ। राज्यका हरेक निकायमा मधेसको प्रतिनिधित्व भइसकेको छ।

ग्रामीण क्षेत्रमा उतिबेला गणित र विज्ञान पढाउनेमध्ये मधेसी मूलका सरहरु नै थिए। नेपालका सबै जसो जिल्लाको अवस्था यही थियो। मधेस मूलका कति शिक्षकले पहाडमा उक्लिएर पढाए भन्ने तथ्यांक राज्य संयन्त्रसँग छैन। हुन त १७ प्रकारका शिक्षकलाई तलब खुवाएर राख्ने हाम्रो सरकारलाई यस्ता कुरामा के चासो?

उतिबेला आरक्षण थिएन। गाउँका हरेकजसो विद्यालयमा मधेसी मूलका सरहरु हुन्थे। अहिले मधेसीलाई शिक्षक सेवा आयोगले २२ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ। त्यसैले अझ सहज भएको छ। गाउँका कैयन् विद्यालयमा चौधरी, महतो, ठाकुर, झा, कर्ण आदि सरहरुले गणित र विज्ञान मात्र होइन नेपाली, सामाजिक पनि पढाइरहेका होलान्। यसपल्ट गुरुपूर्णिमा एवम् वेदव्यास जयन्तीका अवसरमा मधेसी मूलका तमाम गुरुहरुप्रति नमन! 

प्रकाशित: Jul 05, 2020| 08:41 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।