प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो राति मन्त्री तथा राज्यमन्त्रीहरुलाई आफ्नो निवास बालुवाटारमा बोलाए। ओलीले उनीहरुलाई मन्त्रिपरिषद् बैठकका लागि बोलाएका थिएनन्। बरु आफ्नो पार्टी नेकपामा अहिले देखिएको समस्याबारे छलफल गर्न बोलाएका थिए।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतका अनुसार प्रधानमन्त्रीले भेटमा नेकपामा देखिएको समस्याबारे जानकारी गराएका थिए।
पार्टी विभाजनको चरणमा प्रवेश गरेकाले त्यसलाई रोक्नका लागि सहयोग गर्न सबै मन्त्रीलाई प्रधानमन्त्रीले आग्रह गरेको राज्यमन्त्री रावतले बताए। ‘‘पार्टी एकता जुन ढङ्गले भएको थियो, त्यही गतिका साथ पार्टीकै शीर्ष नेता नलागेर बेठीक ढङ्गले लाग्नुभयो,’’ प्रधानमन्त्रीलार्ई उद्धृत गर्दै रावतले भने, ‘‘पार्टी एकता गर्दा जे सहमति, सहकार्य गरिएको थियो, त्यस विपरीतका क्रियाकलाप हुन थाल्यो । त्यसैले पार्टी एकता कायम गर्न मलाई सहयोग गर्नुहोस् ।’’
आफूले प्रधानमन्त्री र अध्यक्ष दुवै नछाड्ने जनाउँदै ओलीले पार्टी एकता गर्दाको सहमतिअनुसार आफू चल्ने बताएको रावतले जानकारी दिए।
बैठकमा मन्त्रीहरुले पार्टी अल्पमत वा बहुमतमा नभई विधानअनुसार दुवै अध्यक्षले चलाउनुपर्ने जनाउँदै पार्टी एकता जसरी भए पनि कायम राख्नुपर्नेमा जोड दिएको राज्यमन्त्री रावतले बताए।
रावतका अनुसार मन्त्रीहरुले पार्टीका शीर्ष नेताका विरुद्ध बाहिर सञ्चारमाध्यममा आएका समाचार विश्वसनीय नभएको जनाएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेपछि प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यसँग छलफल गरेका थिए। छलफलमा सबै मन्त्री र राज्यमन्त्रीको सहभागिता थियो। केही दिनदेखि पार्टी एकतामा समस्या देखिएपछि प्रधानमन्त्री ओली र अन्य शीर्ष नेताहरु छलफलमा व्यस्त छन्।
