पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या थपिइरहेको भए पनि आज शनिबार भने एक जना पनि संक्रमित थपिएनन्। यो साता काठमाडौंमा दुई जना कोरोना संक्रमितको मृत्यसमेत भएको थियो।
आजमात्रै उपत्यकाको केही स्थानको ढलमा गरिएको परीक्षणमा कोरोना भाइरस पाइएको छ।
सेन्टर फर मोलिक्युलर डायनामिक नेपालले उपत्यकाका चार ठाउँका ढलमा परीक्षण गरेर हेर्दा दुई ठाउँमा कोरोना भाइरस (सार्स– कोभिड २) विषाणु भेटिएको हो।
केही दिनअघि भारतको जयपुरमा भएको परीक्षणमा पनि ढलमा कोरोना भाइरस पाइएको थियो। तर, ट्रिटमेन्ट गरिएको ढलको पानीमा भने कोरोना नपाइएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
काठमाडौं उपत्यकामा अहिलेसम्म १५६ जनामा कोरोना संक्रमण देखिएको छ। नेपालमा पहिलो पटक गत माघमा चीनको वुहानबाट काठमाडौं आएका एक जनामा कोरोना संक्रमण देखिएको थियो।
