काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही साउन १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।
सरकारले भोलि असार २१ गतेसम्ममा कुनै निर्णय नगरे महासंघको बैठक बसेर साउन १ गतेबाट सार्जजनिक यातायात चलाउने तयारी गरेको हो ।
सार्वजनिक सवारी सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफलमै अल्झाएको र कुनै निर्णय नगरेकाले अब जबरजस्ती भएपनि साउन १ गतेबाट ग्यारेजबाहिर यातायात निकाल्ने तयारी भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले नेपाल समयलाई जानकारी दिए ।
तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएकाले बाध्य भएर यातायात सञ्चालन गर्ने निर्णयमा पुगेको उनले बताए ।
यातायात खुला गरेको तर सार्वजनिक सवारीसाधनलाई मात्र रोकेर व्यवसायी र मजदुरको पेटमा लाट हानेकाले बाध्य भएर यातायात चलाउन लागिएको उनको भनाइ छ ।
उनले भने– यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अवस्था बनेको छ, बैङ्कले ऋण तिर्न दिएको तनाव सहन नसक्ने अवस्था छ । यसकारण पनि बाध्य भएर एकलौटी निर्णयका साथ सार्वजनिक यातायात चलाउने निर्णयमा हामी पुगेका छौ।
निजी गाडीले यात्रु ओसार्दा कोरोना नलाग्ने, सार्वजनिक यातायात चल्दा चाही कोरोना लाग्ने ? यो हामीलाई सैह्य छैन् । सरकारलाई हामीले धेरै पटक आग्रह गर्यौ । सरकारले सुनुवाई नै गरेन त्यसैले बाध्य भएर यातायात चलाउने निर्णय गरिएको हो ।
असार २१ पछि गाडी बैठक बसेर ठोस निर्णय गर्ने र सोहिअनुसार गाडी चलाउन थाल्ने वरिष्ठ उपाध्यक्ष स्वाँरले बताए ।
तीन महिनाभन्दा लामो लकडाउनका कारण ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै सडकमा आएका छन् ।
