काठमाडौं- लकडाउन अवधिभर पर्यटन क्षेत्रमा ४१ अर्ब रुपैयाँ बराबरको क्षति भएको पर्यटन बोर्ड र नागरिक उड्ययन प्राधिकरणले गरेको अध्ययनले देखाएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरि चैत ११ देखि हालसम्मको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा पर्यटन क्षेत्रमा उक्त रकम बराबरको क्षति भएको जानकारी दिएको हो।
अध्ययन अनुसार मासिक १० अर्बका दरले क्षति भएकोमा हालसम्म ३४ अर्ब रुपैयाँ बराबर क्षति भएको र लकडाउन साउन ७ गतेसम्म लम्ब्याउँदा थप ७ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको छ।
पर्यटन मन्त्रालयका अनुसार सो अध्ययन रिपोर्ट अर्थ मन्त्रालय पठाइसकेको जनाएको छ। रिपोर्टमा पुनर्कर्जाको पाँच प्रतिशत ब्याज दरमा कोषबाट ऋण दिने व्यवस्था हुनुपर्ने, होटलको लागि भ्याट दाखिला गर्ने समयावधि दुई महिनाबाट बढाएर चार महिना पुर्याउनुपर्ने, हवाइजहाज पार्किङ शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सिफारिस गरिएको छ।
पत्रकार सम्मेलनमा पर्यटनमन्त्री योगेश भट्टराईले लकडाउन अवधिमा नेपालभित्र अलपत्र परेका एक हजार ८२९ विदेशीहरूलाई उद्धार गरिएको बताए। उनका अनुसार हवाई मार्गबाट ९५० र सडक मार्गबाट ८७९ विदेशी नागरिकलाई उद्धार गरिएको छ।
त्यस्तै, मध्यपूर्व र युरोपका अतिरिक्त विभिन्न १७ मुलुकहरूबाट मार्च २४ देखि ३० जुनसम्म नेपाल वायुसेवा निगम सहितका अन्य वायुसेवाका कुल २१४ उडानबाट १६ हजार ६७२ नेपालीलाई उद्दार गरिएको र नेपालमा अलपत्र परेका विदेशीसहित १२ हजार ४०८ यात्रु विदेश प्रस्थान गरेको मन्त्री भट्टराई जानकारी दिएका छन्।
यस अवधिमा भएका कूल २६१ अन्तर्राष्ट्रिय उडानमध्ये नेपाल वायुसेवा निगमका ९८, हिमालय एअरलाइन्सका ६२, बुद्ध एअरका ४ र श्री एअरलाइन्सका ६ गरी नेपाली वायुसेवा कम्पनीहरूले १७० उडान गरेका छन्।
४७ वटा अन्तर्राष्ट्रिय कार्गो उडानबाट करिब ८९१ टन कार्गो भित्रिएको छ भने ४७२ टन कार्गो बाहिरिएको छ।
