काठमाडौं- नवलपरासीको गैडाकोटस्थित एक पसलबाट गरगहना तथा नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
गैडाकोट नगरपालिका–५, कांग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट सुन तथा चाँदीका गरगहना र नगद चोरी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका–५, टीकाथली बस्ने दोलखा, मेलुङ गाउँपालिका–१ का २४ वर्षीय अनुज लामा, धुलिखेल नगरपालिका–१२, घर भएका ४० वर्षीय जीतबहादुर तामाङ र भक्तपुर, सूर्यविनायक नगरपालिका–८ बस्ने सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–३ घर भएका २८ वर्षीय तीर्थबहादुर रुम्बा छन्।
उनीहरुले गत फागुन १८ गते बिहान पसलबाट तयारी सुन ६९ तोला ५ लालका गहना, एक किलोग्राम बराबरका चाँदीका गरगहना तथा नगद सात लाख रुपैयाँ लकरसहित चोरी गरेका थिए।
घटनाको अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, महानगरीय अपराध महाशाखा काठमाडौं, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र इलाका प्रहरी कार्यालय, गैडाकोटबाट संयुक्तरुपमा खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट विभिन्न गरगहना १२ तोला ५ प्वाइन्ट, सेफ लकर फोडिएको अवस्थामा एक थान तथा फोड्न प्रयोग भएका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ।
उनीहरुविरुद्ध डाँका चोरी मुद्दामा जिल्ला अदालत, नवलपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
