कञ्चनपुर- प्रेम सम्बन्धमा रहेका एक जोडीले कञ्चनपुरमा सँगै नहरमा हाम फालेका छन्।
शुक्रबार मध्यान्न भीमदत्त नगरपालिका–१ भाँसीमा युवायुवतीले नहरमा हाम फालेका हुन्।
प्रहरीका अनुसार नहरमा हामफाल्ने युवक वडा नम्बर २ उल्टाखामका २२ वर्षीय राकेश चौधरी हुन्। युवती महुलियाकी १९ वर्षीया रेनु चौधरी हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी अमरबहादुर थापा क्षेत्रीले नहरमा सँगै हाम फालेका दुईमध्ये युवतीलाई स्थानीयले सकुशल नै उद्धार गरेका छन्।
युवक भने वेपत्ता छन्। स्थानीय सुरेश चौधरीका अनुसार रेनुले हामफालेको उनकी साथीले देखेपछि कराएकी थिइन्। उनी कराएको सुनेर नजिकै रहेका स्थानीयले रेनुलाई सकुशल उद्धर गरेका थिए।
रेनु होशमा आएपछि उनैले राकेशले पनि हामफालेको र बचाउन भनेपछि सँगै हाम फालेको खुलेको प्रहरीले जनाएको छ।
युवतीको अहिले महाकाली अस्पतालमा उपचार भइरहेको छ। उनीहरुबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ।
बेपत्ता राकेश नेपाली सेनामा कार्यरत थिए। दिपायलमा कार्यरत चौधरी तीन दिन पहिले मात्र घर आएका थिए।
राकेशको खोजी जारी राखेको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
