काठमाडौं- सडक विभागमा कार्यरत एक जना इन्जिनियरले जागिर अवधिमा सवा तीन करोड रुपैयाँ अवैध आर्जन गरेको खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट इन्जिनियर भरतराज आचार्यले ३ करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको खुलेको हो।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आचार्यले जागिरे अवधिमा कुल पाँच करोड २९ लाख ४२ हजार चार सय ६६ रुपैयाँ आर्जन गरेकोमा दुई करोड सात लाख १९ हजार ९ सय ८६ रुपैयाँको मात्र स्रोत खुलेको छ।
सडक विभाग अन्तर्गतका बिभिन्न कार्यालयमा बसेर आचार्यले आफू र पत्नीका नाममा जग्गा खरिद, घर निर्माण तथा सवारी साधन खरिद गरेको अख्तियारले जनाएको छ।
साथै आचार्यले स्रोत नखुलेको रकमसमेत अस्वभाविक मात्रामा बैकिङ कारोबार तथा विभिन्न बैंक खाताहरुमा रकम जम्मा गरेको र शेयर लगानी गरेको खुलेको अख्तियारले जनाएको छ।
हाल सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत आचार्यले सार्वजनिक निर्माण शाखा रुकुममा सव–ओभरसियर पदबाट २०४१ असोज १२ मा अस्थायी नियुक्ति लिएका थिए।
२०४३ असार २१ मा ओभरसियर पदमा स्थायी नियुक्ति लिएका आचार्य २०६४ माघ १ गते इन्जिनियरमा पदोन्नति भएको खुलेको छ।
उनीविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
