मंगलबार, भदौ ९, २०८३

यात्रु पाइँदैनन्, खाली रिक्सा कति चलाउनु

ठमेल क्षेत्रलाई लक्षित गरेर सञ्चालित करिब तीन सय रिक्सा छन्। सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउनले गर्दा यी सबै मारमा परेका छन्।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

काठमाडौं– लकडाउनका कारण तीन महिना कोठामा थुनिएका अर्जुन तामाङले सकडमा रिक्सा निकालेको एक साता भयो। लकडाउन खुकुलो भएपछि रिक्सा चलाउन त पाए उनले तर यात्रु पाएका छैनन्।

यात्रुको खोजीमा तामाङ रिक्सा लिएर ठमेल, न्यूरोड दरबारमार्गतिर चहार्छन्। यात्रु भेटिँदैनन् अनि खाली रिक्सा कुदाउँदै साँझ परेपछि रित्तो खल्ती कोठा फर्किन्छन्।

‘रिक्सा चलाउन सुरु गरेको एक हप्ता भइसक्यो, यात्रु नै पाइँदैनन्,’ इन्द्रचोकमा खाली रिक्सामा बसेर मोबाइल खेलाइरहेका तामाङले भने, ‘कुनै दिन त बोहोनी नै नभई कोठा फर्किनुपर्छ।’

रामेछापका अर्जुन चार जनाको परिवारसहित काठमाडौंमा कोठा भाडामा बस्छन्। परिवार पाल्ने एकमात्र आयस्रोत रिक्सा नै हो उनको। रिक्साको पाइडल घुमाएर नै परिवार पालिरहेका अर्जुनका लागि कोरोना महामारी ठूलै कहर बनेर आयो।

लकडाउनअघि कमाएको पैसाले तीन महिना घरमै बसेर खाएको उनले सुनाए। पैसा पनि सकियो, लकडाउन खुकुलो पनि भयो। सडकमा रिक्सा निकाल्न पनि पाए तर यात्रु पाउन सकेका छैनन्।

काभ्रेका शंकर प्रधानको अवस्था पनि अर्जुन तामाङको जस्तै छ। शंकर पनि यतिबेला राजधानीका सडकमा खाली रिक्सा कुदाइरहेका छन्।

‘यात्रुको खोजीमा दिनभर खाली रिक्सा कुदाउँदै गल्ली–गल्ली चहारिन्छ,’ प्रधानले भने, ‘कहिलेकाहीँ यात्रु पाइन्छ तर, अधिकांश समय खाली रिक्सा कुदाउँदै बित्छ।’

उनको पनि चार जनाको परिवार छ। यात्रु नपाएको दिन चुलो बाल्न मुस्किल हुन्छ। लकडाउनअघिको ठमेल सम्झिँदा एकादेशको कथाजस्तो लाग्छ। ठमेलको त्यो माहोल फेरि फर्केला त ? शंकर आशावादी छन् तर शंका पनि उत्तिकै छ।

‘सडकमा मान्छेको भीड हुँदा कमाइ पनि राम्रो हुन्थ्यो। अहिले मान्छे नै छैनन् कहाँबाट चलोस् रिक्सा, कसरी होस् कमाइ ?’ प्रधान भन्छन्, ‘भएका केही मानिस पनि कोरोनाको डरले बरु पैदलै हिँड्छन्, रिक्सामा बस्दैनन्।’

शंकर पीडा पोख्छन्, ‘जेसुकै महामारी आओस् या अरु कुनै घटना होस्, त्यसबाट मर्ने भनेको मजदुर नै हो। रोग आफ्नो ठाउँमा छ तर, भोकले तड्पिएर त मर्न सकिँदैन नि !’

काभ्रेकै ४५ वर्षीय हरिकुमार शाहीले देशको केन्द्रीय राजधानी यति सुनसान होला भन्ने कल्पनासमेत गरेका थिएनन्। ‘दिनमा एक जना पनि यात्रु नपाएर खाली रिक्सा कुदाउनुपर्ला भन्ने त कहिलै सोचेको पनि थिएन,’ शाहीले भने, ‘यो कोरोनाले त हामीजस्ता मजदुरलाई भोकले नै मार्ने भयो।’

उनको तीनपाङ्ग्रे रिक्सामा शाहीको ६ जनाको परिवार निर्भर छ। तीन महिनासम्म नचलेर थन्किएको रिक्सा सडकमा निकालेको एक हप्ता भयो, तर आम्दानी भएको छैन।

‘अहिलेसम्म जे भयो भयो, अब विस्तारै लकडाउन खोलेर मान्छेको चहलपहल बढ्यो भने दुई–चार पैसा कमाइ भैहाल्थ्यो,’ शाहीले भने, ‘एकातर्फ सरकारले नहेर्ने अर्कोतर्फ कमाइ नभए त भोकै मरिन्छ।’

ठमेल क्षेत्रलाई लक्षित गरेर सञ्चालित करिब तीन सय रिक्सा छन्। सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउनले गर्दा यी सबै मारमा परेका छन्।

प्रकाशित: Jul 03, 2020| 13:29 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।