नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेविसंघका कार्यकर्ताहरुलाई गाउँमा गएर काम गर्न निर्देशन दिएका छन्।
पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८६ औं जन्मजयन्तीका अवसरमा आज रत्नपार्कस्थित शान्ति वाटिकामा आयोजित रक्तदान कार्यक्रममा उनले भने, ‘गाउँगाउँमा जानुस्, स्कुल कलेजमा जुट्नुस्। जहाँ पनि हारेको हारै छ। जबसम्म स्कुलमा नेविसंघ हुँदैन, कहिल्यै पनि पार्टी बलियो हुँदैन। काठमाडौंमा ठूल्ठूलो भाषण गरेर केही हुनेवाला छैन। गाउँमा जाऊ गाउँमा। स्कुलमा नेविसंघ बनाऊ। केही नगर्ने अनि मसँग ठूलो कुरा गर्ने ?’
कोरोना महामारीको बेला सामाजिक दूरीको ख्याल नगरी कार्यक्रम नगरेको भन्दै उनले आक्रोश पोखे– ‘सोसल डिस्टान्स भनेको छ तर टाँस्सिएर बसिरा’छन्। लाज पनि छैन। यत्रो रोग आएको छ, सोसल डिस्टान्सिङ गर्नुस्। अहिलेको बेला किन कार्यक्रम गर्नुपर्यो ? सबैले कार्यक्रम गर्न छोडिसके, हामीले मात्रै गर्नुपर्ने ? भाषण गरिहाल्नुपर्ने, जान्ने भइहाल्नुपर्ने ?’
नेविसंघका नेताहरु आफू–आफू झगडा गरेर बसेको भन्दै उनले झगडा गरेर अगाडि बढ्न नसकिने बताए । ‘चारपल्ट प्रधानमन्त्री भइसकेँ म, तपाईंहरु कोही हुन सक्नुहुन्छ भोलि यस्तै हिसाबले ? लाज पनि छैन यार ! राम्रोसँग गर्नुस्, नेविसंघलाई बलियो बनाउनुस्। सबै ठाउँका स्कुल–कलेजमा जुट्नुस्,’ उनले भने।
कार्यक्रम नेविसंघ केन्द्रीय समितिले आयोजना गरेको थियो।
