काठमाडौं– स्थायी कमिटी बैठकमा शीर्ष नेताहरूले एकै स्वरमा केपी ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग गरेपछि पार्टीभित्र तीव्र मतभेद उत्पन्न भएको छ।
सोही मतभेद अन्त्य गरी छलफलका माध्यमबाट टुंगोमा पुर्याउन भोलि बिहीबार र शुक्रबार नेताहरूबीच गुटगत भेला हुने भएको छ।
बिहीबारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आज र भोलि अध्यक्षद्य र अन्य जिम्मेवार कमरेडहरुका बीचमा पार्टीमा अहिले देखापरेको संकट र समाधानबारे छलफल हुनेछ।’
स्थायी कमिटी बैठकमा नेताहरूले पार्टी एकता गम्भीर संकटमा पुग्न लागेको त होइन भन्ने विषयमा गम्भीर चासो व्यक्त गरेका थिए।
बैठकपछि श्रेष्ठले भने, ‘पार्टी एकतालाई हर हालतमा रक्षा गर्न र सुदृढ गर्न, पार्टी सरकार र राष्ट्रको आवश्यकतालाई पनि पूरा गर्ने गरी आपसी छलफल गर्नुपर्ने आवश्यकता महसुस गर्नुपरेका कारण शनिबार ११ बजेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको छ।’
प्रवक्ता श्रेष्ठका अनुसार पार्टी एकताको रक्षा र सुदृढ गर्नुपर्छ। एकता लागि अन्तिम प्रयत्न गर्नुपर्छ भनेर छलफलमा केन्द्रित हुनुपर्छ भन्ने निर्णय भएको छ।
