बाँके- नेपालगन्जस्थित वेस्टर्न अस्पतालको लापरवाहीले महिलाको ज्यान गएको भन्दै आफन्तले आज विरोध प्रदर्शन गरेका छन्।
बर्दिया, राजापुर नगरपालिका१० की ४३ वर्षीया नारायणी बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको भन्दै आफन्तले नेपालगन्जमा विरोध प्रदर्शन गरेका हुन्।
पाठेघरमा ट्युमर भएपछि नारायणीलाई यही असार १४ गते अस्पताल भर्ना गरिएको थियो। उनको गत मंगलबार शल्यक्रियाबाट ट्युमर निकालिएको थियो।
उनको त्यही दिन नै मृत्यु भएको आफन्तको आरोप छ। शल्यक्रिया गरिएको १६ घन्टासम्म पनि होस नआएपछि बिरामीलाई भेट्न खोज्दा चिकित्सकले 'बिरामीको अवस्था ठिकै छ, श्वासप्रश्वासमा समस्या छ' भनी टार्न खोजेको आफन्तको भनाइ छ।
आफन्तले बिरामीको उपचार प्रभावकारी नभएको भन्दै थप उपचारका लागि बिरामीलाई बुधबार राति मेडिकल कलेज पुर्याएका थिए। तर, मेडिकल कलेजले बिरामीको पहिल्यै मृत्यु भइसकेको जानकारी दियो।
डा. कल्पना थापाले नारायणीको शल्यक्रिया गरेको बताइएको छ।
यसैबीच, पीडित पक्षले दोषिमाथि कारबाहीको माग गर्दै आजै जिल्ला प्रशासनमा ज्ञापनपत्र समेत बुझाएका छ्न्। चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएकाले कानुनी उपचार खोजिने मृतकका पतिले बताए।
