मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् अधिवेशन अन्त्यबारे प्रतिपक्षी दलको तीव्र विरोध

संसद् अधिवेशन अन्त्यबारे प्रतिपक्षी दलको तीव्र विरोध

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् अधिवेशन अन्त्यको निर्णयप्रति आपत्ति जनाएका छन्।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् अधिवेशन अन्त्यको निर्णयप्रति आपत्ति जनाएका छन्।

सत्तासीन दलले संसदलाई व्यक्तिगत स्वार्थको दाउपेचमा पारेर गलत राजनीतिक संस्कारको थालनी गरेको प्रतिक्रिया विपक्षी नेताहरूले दिएका हुन्।

कांग्रेस नेता एवम् संविधानविद् राधेश्याम अधिकारीले नेकपाको आन्तरिक खिचातानीको प्रभावले सरकारले संसद्को चालु अधिवेशन चाँडै अन्त्य गरेको प्रतिक्रिया दिएका छन्।

राष्ट्रिय सभाका सांसदसमेत रहेका अधिकारीले नेपाल समयसँग भने, ‘हुन त सरकारले कोभिड–१९ का कारण संसदको अधिवेशन अन्त्य गरेको हो भनेर बहाना बनाउन सक्ला तर यो सत्तासीन पार्टीको आन्तरिक खिचातानीको प्रभाव हो।’

संसदलाई पार्टीभित्रको विवादको थलो बनाउन उपयुक्त नभएको टिप्पणी उनको छ। उनले सरकारले संसद अधिवेशन अन्त्य गरेर सत्ता चलाउन खोजे जनताले नै प्रतिकार गर्ने बताए।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता र निजामती विधेयक र एमसीसी सम्झौता अनुमोदन थाती राखेर अधिवेशन अन्त्य गरी सरकारले गलत काम गरेको बताए।

उनले भने, ‘यो राजनीतिक संस्कार भएन। संसदलाई व्यक्तिगत स्वार्थ र राजनीतिक दाउपेचमा पारियो।’

कांंग्रेसका अर्का नेता मिनेन्द्र रिजालले पनि एक्कासी संसद अधिवेशन गर्नु गलत भएको बताए। उनले भने, ‘अहिलेसम्म हेर्दा आन्तरिक द्वन्द्व व्यवस्थापनका लागि संंसदको अधिवेशन अन्त्य गरेको देखिन्छ। यो गलत हो।’

उनले अधिवेशन अन्त्य गर्नुको कारणबारे सरकारले जानकारी दिएपछि थप प्रतिक्रिया दिने बताए।

सरकारले संसदको बर्खे अधिवेशन गत वर्षभन्दा तीन महिनाअघि नै अन्त्य गरेको छ। प्रतिनिधिसभाको बैठक आगामी साेमबारका लागि डाकिएको थियो।

सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श नै नगरी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। यस्तै बिहीबार राष्ट्रियसभाको बैठक चलिरहेकै बेला अधिवेशन अन्त्य गरिएको छ।

संसदको बर्खे अधिवेशन गत वर्ष असोज २ गते अन्त्य गरिएको थियो भने २०७५ सालमा असोज ११ गते अन्त्य गरिएको थियो।

प्रकाशित: Jul 02, 2020| 15:30 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।