मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • असनका व्यापारी भन्छन्– डिप्रेसनबाट जोगिन पनि पसल खोल्नैपर्‍यो

असनका व्यापारी भन्छन्– डिप्रेसनबाट जोगिन पनि पसल खोल्नैपर्‍यो

तीन महिना भन्दा लामो लकडाउनका कारण बन्द रहेका राजधानी काठमाडौंका अधिकांश पसलहरु खुलिसकेका छन्।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं- तीन महिना भन्दा लामो लकडाउनका कारण बन्द रहेका राजधानी काठमाडौंका अधिकांश पसलहरु खुलिसकेका छन्।

राजधानी बाहिर रोकिएका व्यापारीबाहेक प्राय सबै पसलहरु खुलिसकेका छन्। तर, व्यवसाय भने फिटिक्कै छैन।
तीन महिनासम्म घरमै बसेर समय बिताएका व्यापारीहरु यतिबेला पलसमा बसेर समय बिताउदैछन्।

‘तीन महिनासम्म घरमै बसिरहँदा डिप्रेशन हुने अवस्था सिर्जना भएपछि पसल खोल्न थालियो’ इन्द्र चोकमा भाँडाको व्यापार गर्ने सीताराम तिमल्सिनाले भने, ‘पसल खोले पनि व्यापार ठप्प छ।’

घरमा खाली बस्दा बैंकको किस्ता, पसलको भाडा कसरी तिर्ने, परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउने गरेकामा पसल खोलेर छरछिमेकका व्यापारीहरुसँग सुखदुख गर्दै तनाव कम गरिरहेको तिमल्सिनाले सुनाए।

कसैकसैको अलिअलि व्यापार भए पनि अधिकांश व्यापारीलाई भने पसलमा आएर लामो समयसम्म सामानमा लागेको धुलो सफा गर्नुबाहेक अरु काम छैन।

असार लागेलगत्तै पसल खोले पनि अधिकांश दिन ‘बोहोनी’ नै नभएर घर फर्किनु परेको न्युरोडका सुन व्यापारी बैकुण्ठ न्यौपानेले बताए। ‘घरमा पनि कति बस्ने पसलमा आयो सफा गर्यो दिन बितायो बेलुकी सटर तान्यो हिँड्यो’ न्यौपानेले भने।

ठमेलका ‘हेण्डीक्राफ्ट’ व्यापारी अमित गुप्ताले पसल खोलेको एक हप्तासम्म तीन सय रुपैयाँको व्यापार भएको सुनाए।
‘घरमा बस्दाबस्दा वाक्क लागिसक्यो यसो समय विताउन पसल खोल्ने गरेको छु’ गुप्ताले भने, ‘घरबाट पसल खोलाैँ भनेर हिँडिन्छ तर, पसल नजिक पुगे सटरनै खोल्न मन लाग्दैन।’

इन्द्र चोकका जुत्ता व्यापारी रामचन्द्र ढकालले भने सामान्य रुपमा व्यापार भएको बताए। ‘छिटपुट रुपमा व्यापार हुँदा साँझ बिहानको छाक टार्न पुगेको छ’ न्यौपानेले भने, ‘घरमा बसेर तनाव हुने भएकाले तनाव कम गर्न पनि पसल खोल्नु परेको छ।’

 

रातदिन व्यस्त हुने ठमेल क्षेत्र लकडाउनले गर्दा यतिबेला सुनसानप्राय छ। खुलेका पसलहरुमा व्यापारीबाहेक अर्को मान्छे देखिँदैन। कोही व्यापारी पसल खोलेर सुतेका छन् भने कोही ढोकामै बसेर यताउति नियाल्दै दिन बिताइरहेका छन्।

लामो समय ठप्प रहेको व्यापार कोरोना संक्रमणको दर बढ्दै गएकाले एक वर्षसम्म ठाडो नउठ्ने अनुमान व्यापारीको छ।
सरकारले घोषणा गरेको लकडाउनको निर्णय तीन महिनासम्म पालना गरेका व्यापारीहरु अहिले पनि व्यवसाय खोल्नेबारे सरकारले कुनै मापदण्ड नबनाएकोमा दुखी छन्।

 

प्रकाशित: Jul 02, 2020| 15:10 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्