कोरोना महामारीका कारण बन्द भएको पुनः श्रमस्वीकृति सरकारले झण्डै चार महिनापछि खुला गरेको छ।
श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति आज (बिहीबार) देखि खुला गरिएको हो।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट बिहीबारदेखि पुनः श्रमस्वीकृति दिन थालिएको जानकारी दिए।
गुरागाईंका अनुसार वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुनः श्रमस्वीकृति दिइनेछ। पुनः श्रमस्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रमस्वीकृति दिन सक्ने निर्णय गरेसँगै श्रमस्वीकृतिको बाटो खुलेको हो।
बैठकले श्रम मन्त्रालयको सिफारिसमा नयाँ रोजगारी खुला गर्ने निर्णयसमेत गरेको थियो। पुनः श्रमस्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ। कतिपय देशले अझै यात्रु प्रवेशमा रोक लगाएका छन्।
