काठमाडौं– सरकारले नेपाल फर्काउन चासो नदिँदा ३१ नेपाली महिला अझै पनि भारतमा बन्दी जीवन बिताइरहेका छन्।
माइती इन्डियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखी यथाशीघ्र उनीहरुलाई नेपाल फर्काउने पहल गर्न अनुरोध गरेको छ।
मानसिक रुपमा पीडित भएर उद्धारका लागि रुँदै फोन गरिरहँदा पनि नेपाल सरकारले पहल नगरेको गुनासो माइती इन्डियाको छ।
सरकारले उद्धार नगर्ने हो भने आफूहरूलाई उद्धारको जिम्मा दिन माइती इन्डियाकी कार्यकारी सदस्य सीता अधिकारीले बताएकी छन्।
माइती इन्डियाले भनेको छ, ‘हामीलाई जिम्मा दिएको अवस्थामा ५ दिनभित्र आर्थिक लगायत सबै व्यवस्था गरी नेपाल सरकारलाई जिम्मेवार दिन तयार रहेको पनि जानकारी गराउन चाहन्छौं।’
ती महिलालाई नौ महिनाअघि भारतको मणिपुरबाट उद्धार गरिएको थियो। दलालले वैदेशिक रोजगारीका प्रलोभनमा मानव बेचबिखन एवम् ओसारपसार गर्ने उद्देश्यसाथ मणिपुरको इम्फालमा छाडिदिँदा उनीहरू बिचल्लीमा थिए।
त्यसपछि उद्धार गरिए पनि उनीहरू भारतको सरकारी गृहमा बन्दीजस्तै अवस्थामा छन्। नेपाल सरकारले नचाहेसम्म उनीहरूको फिर्ती प्रक्रिया अघि बढ्न सक्दैन।
उनीहरूको उद्धारका लागि भारतको विदेश मन्त्रालय माध्यमबाट नेपाल सरकारलाई नेपाली दूतावासमार्फत जानकारी गराएको थियो। पटकपटक निवेदन दिँदा पनि उद्धारका लागि पहल नगरेको गुनासो माइती नेपालको छ।
