विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मध्यपूर्वका मुलुक कोरोना संकटको नाजुक मोडमा पुगेको बताएको छ।
लकडाउन खुकुलो भएका कारण कोरोना संक्रमण बढेको भन्दै डब्लुएचओले यस्तो बताएको हो।
मोरक्कोदेखि पाकिस्तानसम्मका मध्यपूर्वका २२ देशमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ।
डब्लुएचओका पूर्वी भूमध्यसागर क्षेत्रीय कार्यालयका प्रमुख अहमद अल–मन्धारीले भने, ‘हामी आफ्नो क्षेत्रमा नाजुक अवस्थाबाट गुज्रिरहेका छौं।’
डब्लुएचओका अनुसार मध्यपूर्व क्षेत्रमा कोरोनाबाट मृत्यु हुनेमध्ये ८० प्रतिशत ५ देश (इजिप्ट, इरान, इराक, पाकिस्तान र साउदी अरब) का छन्।
मध्यपूर्वमा पहिलोपटक गएको जनवरी २९ मा कोरोना संंक्रमण पुष्टि भएको थियो। चीनपछि इरानमा कोरोना फैलिएको थियो।
त्यसपछि मध्यपूर्वका अन्य देशमा जुनमा संक्रमण फैलिएको थियो। लकडाउन खुकुलो बनाइएपछि धेरैजसो देशमा संक्रमण बढेको डब्लुएचओले बताउँदै आएको छ।