काठमाडौं- पार्टीभित्रको विवाद पेचिलो बनेसँगै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन आफू पक्षका नेताहरुलाई उनकाे निवास खुमलटार पठाएका छन् ।
सहमतिका लागि मध्यमार्गी बाटोको प्रस्ताव लिएर महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेल लगायत नेताहरु प्रचण्ड निवास पुगेका हुन् ।
ओलीको दूत बनेर पुगेका नेतासँग प्रचण्डले अहिले छलफल गरिराखेको उनको निजी सचिवालयले जनाएको छ । छलफलमा प्रचण्डका साथमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरु सहभागी छन्।
ओली पक्षधर नेताहरुले प्रचण्ड समक्ष सरकार र पार्टी सञ्चलानमा भएका कमी कमजोरी सच्याएर अघि बढ्ने, आवश्यक परे मन्त्रिपरिषद् बैठक समेत हेरफेर गर्ने र प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने प्रस्ताव लगेको स्रोतले जनाएको छ ।
ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा गराउन प्रचण्ड र माधव नेपाल पक्ष सक्रियता भएर लागेका छन् । यसका लागि रणनीति बनाउन बुधबार बेलुका ललितपुरस्थित एक पार्टी प्यालेसमा उनीहरु भेला भएका थिए ।
उक्त भेलामा ओली इतरका सबै स्थायी कमिटी सदस्यको उपस्थिति थियो। नेकपा स्थायी कमिटीका ४५ जना सदस्यमध्ये प्रचण्ड र नेपाल पक्षमा रहेका ३० जना सदस्यहरु त्यहाँ जम्मा भएका थिए।
भेलाले पार्टी र सरकार सञ्चालनमा ओलीले गरेको स्वेच्छाचारिता अन्त्य गर्ने निर्णय गरेको थियो।
उक्त भेलापछि अतालिएका ओलीले आफू निकटका नेताहरुलाई छलफलका लागि प्रचण्ड निवास पठाएका हुन् ।
नेकपाको जारी स्थायी कमिटी बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । बैठक आज पनि बस्दैछ ।
