काठमाडौं- काठमाडौं–भक्तपुर सीमा लोकन्थलीस्थित सडकछेउमा एउटा गाडी ग्यारेज छ।
मंगलबार मध्याह्न त्यहाँ पुग्दा कामदार गाडी मर्मतमा व्यस्त थिए। टिङटिङ र झ्यारझ्यार आवाज आइरहेको थियो।
लकडाउनले गर्दा सडकमा सार्वजनिक यातायातका साधन नचलेको तीन महिना बितिसकेको छ। तैपनि बस मर्मत किन व्यस्त हुनुपरेको होला ?
‘लकडाउनकोे फुर्सदमा गाडी मर्मत गरियो भने पछि सजिलो होला कि भनेर नि’, काममा व्यस्त कृष्ण खड्काले जबाफ दिए।
मर्मत हुँदै गरेको बसका मालिक उनै हुन्। पुरानो बस, तीन महिनासम्म नचलाएर थन्किँदा अधिकांश पार्टपुर्जामा खिया लागेपछि उनी गाडी मर्मतमा जुटेका हुन्।
‘एकातर्फ गाडी नचल्दा आम्दानी बन्द भएको चिन्ता छ भने अर्कोतर्फ त्यही गाडी पनि लामो समय थन्किँदा पार्टपुर्जा फेर्नुपरेको छ’, खड्काले भने, ‘कहिलेदेखि चलाउन पाइने निश्चित नभए पनि कन्डिसनमा त राख्नैपर्यो।’
त्यही बसको आम्दानीबाट कृष्णका पाँच, चालकका पाँच र सहचालकको दुई गरी १२ जनाको गुजारा चल्दै आएको छ।
लामो समयसम्म बस नचलेपछि परिवार पाल्न गाह्रो भएको खड्काले बताए। नियमित किस्ताका लागि वित्तीय संस्थाले ताकेता गर्दा थप तनाव भएको उनले बताए। गाडी मर्मतका लागि झन्डै दुई लाख खर्च लाग्ने उनको अनुमान छ।
‘यही बसले कमाएर मासिक ६० हजार रुपैयाँ बैंकको किस्ता तिर्नुपर्थ्यो किस्ता तिर्न नसकेको चार महिना भयो’, खड्काले भने, ‘बैंकबाट किस्ता तिर्न फोन आइरहेको छ कताबाट तिर्ने?’
कृष्णजस्तै लाखौं यातायात व्यवसायीको लगानी डुब्ने अवस्थामा छ। खुला आकाशमुनि थन्किएका सवारीसाधनका पार्टपुर्जामा खिया लागेको छ।
‘लामो समय नचल्दा बसका पार्टपुर्जा खिया लाग्न थालेका छन्’, नेपाल यातायातका अध्यक्ष गोपालचन्द्र गुरुङले भने, ‘२०–२५ वटा बसबाट ब्याट्रीलगायतका सामान चोरी भइसके।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गाडी अझै कति थन्किनुपर्ने हो यकिन नभएको बताए।
‘गाडी जति लामो समयसम्म थन्किन्छ, त्यति नै पार्टपुर्जामा खराबी आउँछ’, सिटौलाले भने, ‘गाडी थन्किरहेको अवस्थामा पनि बैंकले ब्याज र किस्ता तिर्न ताकेता गरिरहेका छन्। कसरी तिर्नु ?’
मुलुकको सार्वजनिक यातायात क्षेत्रमा झन्डै १० खर्ब लगानी रहेको महासचिव सिटौलाको दाबी छ। लामो र छोटो दुरीका गरी ३ लाखभन्दा बढीसाना, ठूला भाडाका सवारीसाधन ठप्प छन्।
यस क्षेत्रमा ११ लाख बढीले रोजगारी पाइरहेका छन्। भाडाका सवारीका क्षेत्रमा आश्रितको जनसंख्या ४० लाख छ।
भिडियो : गिरिप्रसाद भुसाल
बैंक किस्ता रोक्न माग
व्यवसाय ठप्प हुँदा समयमै बैंकको ब्याज तथा कर्जा तिर्न नसक्ने अवस्थामा यातायात व्यवसायी पुगेका छन्।
कमाउनै नपाएका बेला बैंकको ब्याज र किस्ता तिर्न नसक्ने भन्दै व्यवसायीले पछि कमाएर तिर्ने व्यवस्था मिलाउन माग गरिरहेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग सार्वजनिक सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजमा पुनर्विचार, पुनर्कर्जाको व्यवस्थाको माग गरेको छ।
यस्तै सवारी कर, रुट इजाजत नवीकरण, जाँचपास र चालक अनुमतिपत्रको नवीकरण स्थगन गरी जरिबाना मिनाहाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीको छ।
महासंघ टोलीले बुधबार पनि यातायातमन्त्री वसन्त नेम्वाङ, अर्थ सचिव शिशिरकुमार ढुंगानालगायतलाई भेटेर मागबारे पुनः स्मरण गराएको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए।
महासंघका अनुसार अधिकांश व्यवसायीले २० प्रतिशत आफ्नो र ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर बस चलाएका छन्।
व्यवसायीले बैंकबाट १० देखि १२ प्रतिशतसम्म र सहकारीबाट २० प्रतिशसम्म ब्याजमा ऋण लिएको कर्माचार्यले बताए।
तालाचाबी बैंकलाई बुझाउने चेतावनी
लकडाउनका बेला पनि बैंक तथा वित्तीय संस्थाले किस्ता र ब्याज भुक्तानीका लागि ताकेता गरिरहेको भन्दै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले सवारीसाधनका ब्लुबुक र तालाचाबी बैंकलाई नै बुझाउने बताएका छन्।
उनीहरूले बुधबार पत्रकार सम्मेलन गरी बैंक तथा वित्तीय संस्थाले कर्जा भुक्तानीको म्याद कम्तीमा ५ महिना नसारे तालाचाबी नै बैंकलाई बुझाउने घोषणा गरेका हुन्।
कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले कम्पनीमा आबद्ध एक हजार चार सय सवारीसाधनको ब्लुबुक र चाबी संकलन गरिएको जानकारी दिए।
उनले संकटका बेला व्यवसायीको समस्या कसैले सम्बोधन नगरेको गुनासो गर्दै बैंकमा सम्माननीयकै लगानी छ कि भन्दै ती बैंकहरुलाई राहत दिइने त हैन भनी व्यंग्य पनि गरे।
