आइतबार, असोज १८, २०८३

१८ अर्बबाट ५ लाखमा खुम्चियो पाम आयलको निर्यात

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा पाम आयलको निर्यात १८ अर्ब ३१ करोड ७९ लाख ८० हजार रुपैयाँको रहेको थियो। अघिल्लो आर्थिक वर्षमा नेपालको निर्यात व्यापारमा ठूलो योगदान पुर्‍याएको पाम आयलको निर्यात एक वर्षमै झण्डै शून्यम झरेको केन्द्रले जानकारी दिएको छ।
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

काठमाडौं- अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १८ अर्ब रुपैयाँ हाराहारीको निर्यात भएको पाम आयल (तेल) एक वर्षमै करिब सय प्रतिशतले खुम्चिएको छ। 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा पाम आयलको निर्यात ५ लाख ४५ हजार रुपैयाँ बराबरको मात्रै भएको छ। 

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा पाम आयलको निर्यात १८ अर्ब ३१ करोड ७९ लाख ८० हजार रुपैयाँको रहेको थियो। अघिल्लो आर्थिक वर्षमा नेपालको निर्यात व्यापारमा ठूलो योगदान पुर्‍याएको पाम आयलको निर्यात एक वर्षमै झण्डै शून्यम झरेको केन्द्रले जानकारी दिएको छ।

गत आर्थिक वर्षमा पाम आयलको निर्यात खुम्चिए पनि आयात भने उच्च रहेको छ। ७ अर्ब २३ करोड ४८ लाख ८० हजार रुपैयाँ बराबरको कच्चा पाम आयल आयात भएको केन्द्रको तथ्यांक छ। आयात गरेर प्रशोधन गरेर निर्यात गरिँदै आएको पाम आयलमा गत वर्ष भारतले प्रतिबन्ध लगाएपछि निर्यात घटेको हो।

भटमास तेलको निर्यात बढ्यो

गत आर्थिक वर्ष २०७७/०७८ मा कच्चा सोयाबिन (भटमास) तेलको निर्यात भने ह्वात्तै बढेको छ। मुलुकको निर्यात व्यापारमा सबैभन्दा बढी योगदान पुर्‍याएको सोयाबिन तेलको निर्यात गत वर्ष कुल ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार रुपैयाँ बराबरको रहेको छ।

यद्यपि सोयाबिनको निर्यात व्यापार पनि आयातमै निर्भर   रहेको छ। गत आर्थिक वर्षमा नेपालमा कच्चा सोयाबिन ५३ अर्ब ३८ करोड ७८ लाख ८१ हजार रुपैयाँ बराबरको आयात  व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ। अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त आयात १८५ प्रतिशतले वृद्धि हो। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा कच्चा सोयाबिनको आयात १८ अर्ब ७२ करोड ३६ लाख ४४ हजार रुपैयाँको रहेको थियो।

गत वर्ष नेपालको निर्यात व्यापार १ खर्ब ४१ अर्ब रुपैयाँ  हाराहारी भएको छ। उक्त निर्यात व्यापार नेपालको इतिहासमै सबैभन्दा बढी हो। निर्यात व्यापारमा सबैभन्दा बढी योगदान सोयाबिन तेलको रहेको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सोयाबिन निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा ३२२.८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा नेपालबाट सोयाबिन तेलको निर्यात १२ अर्ब ६९ करोड ११ लाख २० हजार रुपैयाँको भएको थियो।

प्रकाशित: Jul 30, 2021| 17:27 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्