काठमाडौं- गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ।
बुधबार अध्यावधिक गरिएको विवरणअनुसार प्रदेशका विभिन्न जिल्लामा गरेर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ६ पुगेको हाे।
पछिल्लो पटक बुधबार दिउँसो १४ जना संक्रमित थपिएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै लमजुङका ५ वटा स्थानीय तहमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राईनाश, सुन्दरबजार, दुधपोखरी, बेशीशहर र क्वोलोसोथारमा संक्रमित भेटिएका छन्।
लमजुङबाट स्वाब संकलन गरी परीक्षण गरिएकामध्ये दुई जना लमजुङ बाहिरका हुन्। एक जना बारा र एकजना तनहुँको भानु नगरपालिका घर भएका व्यक्ति रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित मध्ये १ जना महिला छन्।
यस्तै भरतपुर चितवन अस्पतालमा गरिएको प्रयोगशालामा नवलपरासीको गैंडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोनामुक्त भएर २८७ जना घर फर्किएका छन्।
