विराटनगर– प्रदेश १ सरकारले स्थानीय पाठ्यक्रमलाई एकरुपता दिन काम थालेको छ। यसका लागि अध्ययन गर्न गठित कार्यदलले बुधबार सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई प्रतिवेदन हस्तान्तरण गरेको छ।
सामाजिक विकास मन्त्रालयले शिक्षा विज्ञ अशोककुमार कालाखेतीको संयोजकत्वमा स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको थियो,
कार्यदलले योग र स्वस्थ जीवनशैली, पेसा, व्यवसाय र प्रविधि, सुरक्षा र विपद् व्यवस्थापन, म र मेरो स्थानीय तह, हाम्रो संस्कार र संस्कृति, हाम्रो नैतिक मूल्य, मान्यता र सदाचार नमुना स्थानीय पाठ्यक्रमका क्षेत्र निर्धारण गरेर प्रतिवेदन बुझाएको संयोजक कालाखेतीले बताए ।
पाठ्यक्रममा एकरुपमा ल्याउन काम सुरु गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए।
कार्यदललाई स्थानीय तहले विकास गरेको स्थानीय पाठ्यक्रमको अध्ययन तथा अनुसन्धान र प्रदेशको भाषिक, सांस्कृतिक, भौगोलिक, सामाजिक विशिष्टता तथा आवश्यकता विश्लेषण गर्ने जिम्मेवारी दिइएको थियो।
यस्तै प्रदेशले विकास गर्ने नमुना स्थानीय पाठ्यक्रमका विषय निर्धारण गर्ने, आफ्नो विषय क्षेत्रमा रहेको नमुना पाठ्यक्रमको प्रारम्भिक मस्यौदा लेखन गर्ने, प्रारम्भिक मस्यौदा उपर विज्ञ तथा सरोकारवालासँग छलफल गरी सुझाव लिने जिम्मेवारी कार्यदलको थियो।
सोही अधारमा अध्ययन प्रतिवेदन तयार पारिएको संयोजक कालाखेतीले बताए।
प्रदेश १ मा डिजिटल प्रविधिको विकास सम्बन्धी अध्ययन कार्यदलले पनि अध्ययन प्रतिवेदन बुझाएको छ।
पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति डा.विजुकुमार थपलियाको संयोजकत्वमा रहेको कार्यदलले प्रतिवेदन बुझाएको हो।
प्रदेश १ को सूचना प्रविधि नीतिबारे अध्ययय गरिएको थपलियाले बताए।